काठमाडौं- एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। यसका साथै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।
आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको छ।
लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तीव्रता दिँदै गत १० दिनमा यी २० वटा नयाँ टावरहरु सञ्चालनमा ल्याएको हो।
नयाँ टावरहरुको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ। एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरु सञ्चालनमा ल्याएको छ र ती स्थानहरु बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ।
कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन्। बागमती प्रदेशको हेटौँडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ।
नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने प्रतिबद्धताअनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेको एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले बताए। उनले भने, 'आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौँ, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ।'
नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरुका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो।
फोरजी सेवा विस्तार र सुधार योजनाअनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको छ। यी टावरहरुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने एनसेलले जनाएको छ।