शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

ट्रम्प-सी वार्ता सम्पन्न, उत्कर्षमा पुगेको व्यापार युद्धलाई मत्थर पार्ने निर्णायक सम्झौताको तयारी

बिहीबार , कात्तिक १३ २०८२
ट्रम्प-सी वार्ता सम्पन्न, उत्कर्षमा पुगेको व्यापार युद्धलाई मत्थर पार्ने निर्णायक सम्झौताको तयारी

यदि चीन र अमेरकाबीच व्यापार सम्झौता भयो र अहिलेको भन्सार युद्ध समाप्त भयो भने यसको पहिलो असर मूल्यावान धातुको उछालिएको मूल्यमा पर्नेछ

काठमाडौं- अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकाल निर्वाचित भएर आएपछि डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग पहिलोपटक भेट गरेका छन्। दक्षिण कोरियाको बुसानमा दुई राष्ट्रपतिको भेट भएको हो।

पहिलो कार्यकालमै चीनसँग व्यापार युद्ध सुरू गरेका ट्रम्पले दोस्रो कार्यकालमा आएपछि भन्सार महसुल बढाएर झन चर्काएका थिए। अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा कस्दै गएपछि त्यसको जवाफमा चीनले पनि आफ्नो नियन्त्रणमा रहेका वस्तु तथा पदार्थको निर्यातमा कडाइ गरेको थियो। यसले गर्दा अमेरिका र चीन दुवैले नोक्सानी बेहोर्ने अवस्था आएको थियो।

यस्तो अवस्थामा दुई राष्ट्रपतिबीचको भेट उत्साहजनक रहेको ट्रम्पले बताएका छन्। भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले यो भेटबाट धेरै कुरामा सहमति भएको र व्यापार सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताएका छन्। यसका लागि सैद्धान्तिक र आधारभूत सहमति अहिले नै भइसकेको उनले बताएका छन्।

अमेरिकाले भन्सार महसुल तत्कालका लागि १० प्रतिशत बिन्दुले घटाउने भएको छ। त्यस्तै चीनले अमेरिकाबाट भटमास खरिद सुरू गर्ने, चिपको आयात गर्ने लगायतका सहमति भएको बताइएको छ। त्यस्तै चीनले कडाइ गरेको रियरअर्थ मेटल्सको निर्यात खुकुलो हुने ट्रम्पले अपेक्षा गरेका छन्।

वार्तालगत्तै दुई मुलुकले सांकेतिकरुपमा खुकुलो गर्दै जाने र छिट्टै व्यापार सम्झौतामा हस्ताक्षर हुने ट्रम्पले बताएका छन्। वस्तु तथा प्रविधिको व्यापारमा दुवै मुलुक नरम हुनेछन्। यसबाट तत्कालका लागि व्यापार युद्ध अन्त्य नभएपनि मत्थर हुने बाटोमा गएको छ। यो भेटपछि ट्रम्पले आगामी वर्ष आफू चीनको भ्रमाण जाने पनि घोषणा गरेका छन्।

यदि चीन र अमेरकाबीच व्यापार सम्झौता भयो र अहिलेको भन्सार युद्ध समाप्त भयो भने यसको पहिलो असर मूल्यावान धातुको उछालिएको मूल्यमा पर्नेछ। त्यस्तै, अन्य प्रविधि तथा सेवाको उपलब्धता तथा मूल्यमा पनि असर पर्नेछ।


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend