काठमाडौं- तिहार बिदापछिका दुई कारोबारमा सुधारोन्मुख देखिएको सेयर बजार पुन: ओरालोतर्फ लागेको छ।
यो साता पहिलो कारोबार दिन आइतबार ५.१९ अंकले बढेको बजार दोस्रो कारोबारमा मंगलबार ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा उक्लिएको थियो। बुधबार पुन: बजार ओरालोतर्फ लागेको हो।
बुधबार बजार ५.१७ अंकले घटेर २५६६.१६ बिन्दुमा ओर्लिएको छ। बजार घटेपनि कारोबार रकममा भने वृद्धि देखिएको छ।
८५ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४५ करोड ९७ लाख रूपैयाँको कारोबार भएको छ। आज १५९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ६ कम्पनीको भने स्थिर रहेको छ।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।
सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।