शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

तनहुँ प्रशासनको राहदानी सेवा ५१ दिनपछि सञ्चालन

बुधबार, कात्तिक १२ २०८२
तनहुँ प्रशासनको राहदानी सेवा ५१ दिनपछि सञ्चालन

जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्णरूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो।

तनहुँ- गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ।

जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्णरूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिए। दसैँ अगाडि छापिएर आएका राहदानी वितरण गरिए पनि नयाँ विवरण दर्ताको काम भने आजदेखि सुरु भएको उनले बताए।

सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ। यसअगाडि दुईवटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ। उनले भने, 'दुईवटा स्टेसन हुँदा दैनिक ८० जनालाई सेवा दिन सक्थ्यौँ, अहिले एउटामात्र सञ्चालनमा आएकाले सेवाग्राहीको सङ्ख्या कम गरिएको हो।'

यससँगै कार्यालयबाट साविकका सबै काम सुरु भएका सहायक प्रजिअ रेग्मीले जानकारी दिए। कार्यालयमा गत असोज २६ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ताको काम पनि पुनःसञ्चालन गरिएको थियो। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend