शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

चितवनमा मौरी चरन क्षेत्र अभाव

बुधबार, कात्तिक १२ २०८२
चितवनमा मौरी चरन क्षेत्र अभाव
फाइल तस्बिर

यहाँ मौरीका लागि चरनको अवस्था यो मौसममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका छन्।

चितवन- जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन्। यहाँ मौरीका लागि चरनको अवस्था यो मौसममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन्।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभावका कारण यहाँका किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन्। उनका अनुसार दाङ, प्युठान, रोल्पालगायतका जिल्लामा मौरी चरनका लागि लैजाने गरिएको छ।

उनले भने, 'यहाँका ७० प्रतिशत मौरीका घार चरनका लागि बाहिर लैजाने गरिएको छ।' दाङमा यो समयमा तोरी फुल्ने भएकाले ६० प्रतिशत मौरीका घार लैजाने गरेको उनले बताए। यस्तै प्युठान र रोल्पामा १० प्रतिशत घार लैजाने गरिन्छ।

जिल्लामा रहेका गोलामध्ये बलियो गोला छनोट गरेर चरनका लागि लैजाने गरिएको छ। यहाँ यो समयमा चरन नहुँदा बाँकी रहेका ३० प्रतिशत मौरीलाई चिनीको घोल (चास्नी) खुवाएर राख्ने गरिएको उनले बताए। उनका अनुसार यहाँ राखिएका मौरीबाट मह निकाल्न मिल्दैन।

यहाँका मौरी पालक किसानले १६ हजार २०० घार मेलीफेरा र ३०० घार सेरेना जातको मौरी पालन गरेको उनले जानकारी दिए। यसबाट वार्षिक ४६५ मेट्रिकटन हाराहारी मह उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend