शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा

बुधबार, कात्तिक १२ २०८२
निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा

६ करोड ६६ लाख रूपैयाँ लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ।

पर्वत- निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ । 

मंगलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबीचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो। छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउण्टर कात्तिक १४ गते १ बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय गरेको छ।

यसैगरी बसपार्कवाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई/दुई वटा र अन्य सवारीसाधन एक/एक वटा यात्रु चढाउनका लागि शिवालय चोकमा राख्न पाइने, लामो दुरीमा आउजाउ गर्ने सबै सवारीसाधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउने, राजमार्ग छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय भएको छ।

बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते ११ लाख १९ हजार दुईसय ५२ रूपैयाँमा बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालनको प्रक्रिया अघि बढेको थियो।

अबदेखि नियमित रुपमा बसपार्कबाटै जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए। उनका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतिक्षा गर्ने भन्ने झन्झट हटेर जाने र यसले अव्यवस्थित रुपमा हुँदै आएको पार्किङ र दुर्घटनाहरु न्यूनीकरण हुने उनले बताए। पुनले बसपार्क सञ्चालनका लागि रंगरोगन, विद्युतीकरणलगायत सबै तयारी सकिएको बताए। 

निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बनेको, अव्यवस्थित पार्किङले सवारी दुर्घटनाहरु बढ्दै गएको, यात्रुहरुले सुरक्षित रुपमा सवारीसाधन प्रयोगगर्न नपाएको जस्ता समस्या बढेको भन्दै लामो समयदेखि बजारवासीहरुले बसपार्क सञ्चालनको मागसमेत गर्दै आएका थिए।

बसपार्क सञ्चालन नहुँदा कुश्माको शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रुपमा सवारीसाधनहरु पार्किङ गरेर राख्ने गरिएको थियो। भवनसहित बसपार्कको संरचना अघिल्लो असारमै निर्माण गरेर गत वर्षको कात्तिकमै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन  गर्न केही समय ढिलो भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङ र सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने बताए। ६ करोड ६६ लाख तीन हजार २५० रूपैयाँ लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ। दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सङ्ख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ।

पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारीसाधनहरु छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधनहरु बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend