आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

रिलायन्सका चार हजारभन्दा बढी मजदुर सडकमा जाने, सस्तो लोकप्रियताका लागि लाइन काटेको आरोप

मंगलबार, कात्तिक ११ २०८२
रिलायन्सका चार हजारभन्दा बढी मजदुर सडकमा जाने, सस्तो लोकप्रियताका लागि लाइन काटेको आरोप

रिलायन्सका महाप्रबन्धक महेश पोखरेलका अनुसार बिनासूचना उद्योगको लाइन काटेर बारम्बार दुख दिने काम भइरहेको छ। लाइन काटेपछि सम्पूर्ण उत्पादन ठप्प भएको छ।

विराटनगर- देशकै धेरै रोजगारदाता उद्योगमध्येको एक रिलायन्स स्पिनीङ मिल्सका कर्मचारीले नेपाल विद्युत् प्राधिकरणविरुद्ध सडकमा जाने तयारी गरेका छन्। सुनसरी-मोरङ औद्योगिक कोरिडोरअन्तर्गत रिलायन्समा विद्युत् आपूर्ति बन्द भएपछि रोजगारी गुमाएका कामदारहरू सडकमा जाने भएका हुन्।

उद्योग बन्द भएपछि श्रम कार्यालयबाट स्वीकृति पाएका ३८ सय र अन्य पाँचसय भन्दा बढी अनौपचारिक कामदारको रोजीरोटी प्रभावित बनेको छ। विद्युत् प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगको विवाद समाधान नगरी लाइन काट्ने जानकारी पाएका कर्मचारीले यसअघि नै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेका छन्।

प्राधिकरणले प्रशासनिक पुनरावलोकन समिति भंग गरेर पाँच प्रतिशत धरौटी बुझाएका उद्योगलाई समेत असोज १३ गते पत्र पठाउँदै लाइन काट्ने चेतावनी दिइएकोप्रति कर्मचारीहरू रुष्ट भएका हुन्। रिलायन्सले अदालतको आदेशअनुसार नै गरिरहेको बताएका कर्मचारीहरूले सस्तो लोकप्रियताको लागि बिनाआधार र प्रमाण लाइन काटिएको बताएका छन्।

असोज ३० गते प्रधानमन्त्रीलाई सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत २६०५ कर्मचारीको हस्ताक्षरसहित पठाइएको पत्रमा रोजगारीमा असर नपुर्‍याउन आग्रह गरिएको छ। यदि विद्युतको लाइन काटिएमा भोको पेट सडकमा आउनुको विकल्प नरहेको उनीहरूले चेतावनी दिएका हुन्।

gyapanpatra - dhyanakarsan.jpg

कारखाना श्रमिक संघ, जुट-गार्मेन्ट-कार्पेट-टेक्सटायल मजदुर युनियन, समाजवादी कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघलगायत स्वतन्त्र मजदुरहरूले ध्यानाकर्षण गराएका छन्।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेको भन्दै लाइन काटेको छ। यसअघि हालका ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा यसैगरी दुईपटक लाइन कटिएको थियो।

रिलायन्सका महाप्रबन्धक महेश पोखरेलका अनुसार बिनासूचना उद्योगको लाइन काटेर बारम्बार दु:ख दिने काम भइरहेको छ। लाइन काटेपछि सम्पूर्ण उत्पादन ठप्प भएको छ।

नेपालमा मात्र नभएर भारत, युरोपियन मुलुक, अमेरिकालगायत देशमा वार्षिक ११ अर्ब बराबरको धागो निर्यात गर्दै आएको रिलायन्सले मंगलबारदेखि कर्मचारीलाई काममा नआउन सूचित गरेको छ। रिलायन्सले दैनिक १३०-१५० टनसम्म धागो उत्पादन गर्दै आएको छ। 

प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रूपैयाँ बक्यौता बुझाउन बाँकी छ। मिल्सले भने नेपाल सरकारले गठन गरेको उच्चस्तरीय लाल आयोगको प्रतिवेदनअनुसार भुक्तानी दिन तयार रहेको जनाएको छ।

हाल रिलायन्सले जनेरेटर र सोलार सिस्टमको उपयोग गर्दै आशिंक मात्रामा उत्पादन गरिरहेको छ। 

reliance spinning mills - majdur gyapanpatra.jpg


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend