शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा उच्च अदालतको रोक

मंगलबार, कात्तिक ११ २०८२
केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा उच्च अदालतको रोक

भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो।

काठमाडौं- उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ।

'नियोसिया ब्रान्डका सवारीसाधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्रीवितरण समेत नगर्नु,' अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ। योसँगै, अदालतको अघिल्लो आदेश उल्लंघन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानूनी संकटमा परेको छ।

गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्सबाहेक अन्य कुनै कम्पनीले केवाइसी गाडी आयात नगर्न आदेश दिएको थियो। तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो। अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो।

यो विवादमा ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो। दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए।

भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो। यसरी कानूनी आदेशको उल्लंघन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानूनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो।

केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो। सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक बिक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए।

केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइनाले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ। मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानूनी प्रश्न उठाएको छ।

नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, 'अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्‍याउने कार्य कानूनी शासनका लागि खतरनाक उदाहरण हो। यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ।'

अदालतको आदेशपछि नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास तत्कालै रोकिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend