काठमाडौं- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज मंगलबार राति भारतको आन्ध्र प्रदेश तटमा प्रवेश गर्ने क्रममा रहेको छ। त्यसपछि यो प्रणाली बिस्तारै कमजोर हुँदै उत्तर-उत्तरपश्चिम दिशामा सर्दै नेपालनजिक आइ न्यून चापीय क्षेत्रको रूपमा रूपान्तरण हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार चक्रवात ‘मोन्था’को प्रभावले मिति २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालका बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ।
उक्त अवधिमा मधेस र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने चेतावनी दिइएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा हल्का वर्षा, र कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमी प्रणालीको प्रभावका कारण बागमती, कमला, कोशी र कन्काई नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तहनजिक पुग्न सक्ने देखिएको छ। साथै, महाभारत र चुरे क्षेत्र हुँदै बहने स-साना नदी-नालामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको चेतावनी विभागले दिएको छ।
विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, त्यस्तै बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, र संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा पर्ने नदी-नालामा आकस्मिक बहाव र पहिरोको सम्भावना उच्च रहेको विभागले जनाएको छ।
विभागले सम्भावित वर्षा, हिमपात र बाढीका कारण जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।