शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

हिमाली क्षेत्रमा बाक्लो हिमपात, तल्लो भेगमा भारी वर्षा

मंगलबार, कात्तिक ११ २०८२
हिमाली क्षेत्रमा बाक्लो हिमपात, तल्लो भेगमा भारी वर्षा

आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ।

काठमाडौं- पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। 
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो।

विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ। पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ।

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ। अहिले ३:४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ। चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ।

हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ। काठमाडौं उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ।

आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend