शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

सरकारको पहलसँगै तिहारलगत्तै सेयर बजारमा उत्साह, ६२ अंकले बढ्दा कारोबार रकमसमेत उच्च

मंगलबार, कात्तिक ११ २०८२
सरकारको पहलसँगै तिहारलगत्तै सेयर बजारमा उत्साह, ६२ अंकले बढ्दा कारोबार रकमसमेत उच्च

सरकारले पछिल्ला दिनमा पुँजी बजारमैत्री पहलहरू अघि बढाएसँगै लगानीकर्ता विश्वस्त हुँदै गएको संकेत देखिएको हो।

काठमाडौं- तिहारपछि निरन्तर उकालो लागिरहेको सेयर बजारमा मंगलबार थप उभार देखिएको छ। सरकारले पछिल्ला दिनमा पुँजी बजारमैत्री पहलहरू अघि बढाएसँगै लगानीकर्ता विश्वस्त हुँदै गएको संकेत देखिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार ६२.२९ अंकले बढ्दै २५७१.३४ बिन्दुमा पुगेको छ। मंगलबार कारोबार रकमसमेत बढेको छ। मंगलबार ४ अर्ब ‍‍‍५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्ला दिनको तुलनामा उल्लेखनीय वृद्धि हो। मंगलबार २३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मात्रै घटेको छ भने २ कम्पनीको स्थिर छ।

तिहार बिदापछिको पहिलो कारोबार दिन आइतबार पनि बजारमा सामान्य वृद्धि देखिएको थियो। त्यसदिन नेप्से ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो।

तिहार बिदाअघिको अन्तिम कारोबार दिन पनि बजार हरियोमै बन्द भएको थियो। गत आइतबार नेप्से १६.६७ अंकले बढ्दै २५०३.८५ बिन्दुमा पुगेको र कारोबार २ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो।

विश्लेषकहरूका अनुसार नयाँ चुनावी सरकार बनेकाले बजारमा सकारात्मक धारणा बढ्दै गएको हो। सरकारले निजी क्षेत्रमैत्री नीति ल्याइरहेको छ, पुँजी बजारलाई प्राथमिकतामा राख्ने संकेतले लगानीकर्ताको मनोबल केही अंशमा फर्किएको छ।

२०७८ भदौ २ गते नेप्से ३१९९.०३ बिन्दुमा पुगेर हालसम्मकै कीर्तिमान बनाएको थियो। त्यसयता बजारमा निरन्तर उतारचढाव रहँदै आएको छ। गएको साउन ३१ गते ३०००.८१ बिन्दु र साउन १३ गते पुनः ३००२.०८ बिन्दुसम्म पुगेको बजार हाल पुनः उक्लने प्रयासमा छ।

लगानीकर्ताले अबको बजार चाललाई चुनावी सरगर्मी र सरकारको नीतिगत पहलसँग जोडेर हेरिरहेका छन्। 


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend