काठमाडौं- विश्व बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। आज मंगलबार पनि अन्तर्राष्ट्रिय बजारमा स्पट सुनको मूल्य प्रतिऔँस ३ हजार ९ सय ९२.५३ अमेरिकी डलर तोकिएको छ। जुन अघिल्लो मूल्यभन्दा ०.३२ प्रतिशतले कम हो।
विश्व बजारमा सुनको मूल्य गत साताको मंगलबार करिब ६.३ प्रतिशतले घटेको थियो, जुन १२ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावटको रूपमा रेकर्ड बन्यो। निरन्तर रेकर्ड तोड्दै बढिरहेको सुनको मूल्य अहिले लगातार घटिरहेको छ। अझै कति सम्म गिरावट आउछ भन्ने अनुमान विश्लेषकहरुले गर्न सकेका छैनन।
विश्लेषकहरूले सुनको मूल्य घट्नका तीन प्रमुख कारण उल्लेख गरेका छन्। पहिलो, अमेरिकी डलरको मूल्यमा वृद्धि देखिनु; दोस्रो, अमेरिका र चीनबीच व्यापारिक तनाव घट्ने संकेत आउनु र तेस्रो, लगानीकर्ताहरूले उच्च मूल्यबाट नाफा सुरक्षित गर्न थाल्नु।
सुनको मूल्य पछिल्ला केही महिनामा लगातार बढ्दै आएको थियो। दुई महिनाभित्र सुनको मूल्य करिब २५ प्रतिशतले वृद्धि भएको थियो। विश्लेषकहरूले यसलाई ‘ढिलो आएको तर अपरिहार्य सुधार’को रूपमा व्याख्या गरेका छन्।
सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि घटेको छ। अमेरिकी प्रशासनले चीनसँग व्यापार सम्झौता नजिकिएको संकेत दिएका छन्। साथै, विश्व बजारमा सरकारी ऋण नियन्त्रण र ब्याजदर वृद्धि हुने अपेक्षाले पनि सुनको माग घटाएको छ।
विश्वका केन्द्रीय बैंकहरूले सुनको भण्डारण बढाउँदै आएका छन्। सेप्टेम्बर महिनामा मात्र सुनमा आधारित एक्सचेन्ज-ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरभन्दा बढी नयाँ लगानी भएको थियो।
ब्लुम्बर्गका अनुसार, सुनको मूल्य घटे पनि यसलाई दीर्घकालीन नकारात्मक संकेतको रूपमा लिन सकिँदैन। विश्व अर्थतन्त्रमा मुद्रास्फीति र भू-राजनीतिक जोखिम कायम रहेकाले सुनको माग दीर्घकालमा बलियो रहन सक्ने देखिन्छ।