शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पश्चिमी वायुको प्रभावः गण्डकी-कर्णालीमा वर्षा र हिमपातको सम्भावना

मंगलबार, कात्तिक ११ २०८२
पश्चिमी वायुको प्रभावः गण्डकी-कर्णालीमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले आगामी दुई दिन देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं- पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले आगामी दुई दिन देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्छ। त्यसैगरी बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा पनि आंशिक वर्षा वा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी दिएको छ। यस्तो अवस्थामा त्यस्ता क्षेत्रका दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधिमा असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले सर्वसाधारण, यात्रु, किसान तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ।


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend