दमौली- तनहुँका सामुदायिक वन समूहले वनपैदावार बिक्री गरी ८ करोड ४३ लाख चार हजार पाँचसय तीन रूपैयाँ आम्दानी गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा वनपैदावार बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।
सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलव ४५ क्युफिट वनपैदावार बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार त्यस अवधिमा ४० हजार तीन सय ३१ दशमलव ९५ क्युफिट साल, ४१ हजार एकसय तीन दशमलव ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलव ८६ अन्य वनपैदावार बिक्री भएको छ। त्यस्तै सोही अवधिमा ५० दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ।
जिल्लाका कुल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ। जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चारसय ४८५ वटा कबुलियती वन रहेको छ।
वनपैदावार बिक्रीमार्फत एक करोड २० लाख चार हजार नौसय ८६ रूपैयाँ राजस्व संकलन भएको छ। निजी आवादीतर्फ ५१ हजार चारसय ५४ दशमलव ७५ क्युफिट वनपैदावार बिक्री भएको छ।
सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार तीनसय २४ दशमलव ८ क्युफिट खयर, नौ हजार एकसय ३० दशमलव ६७ क्युफिट अन्य, ८६ दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ। रासस