आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

गोरखा डिपार्टमेन्टको साम्राज्य कमजोर भएपछि गाईपालनमा बलराम

बिहीबार , कात्तिक १३ २०८२
गोरखा डिपार्टमेन्टको साम्राज्य कमजोर भएपछि गाईपालनमा बलराम

दमकमा पाँच तल्लाको डिपार्टमेन्ट अहिले दुई तल्लामा सीमित छ। अहिलेको अवस्थामा होटेल चल्ने भएपनि लगानीको लागि तयार छैनन् बलराम।

विराटनगर- विसं २०५० को दशक नेपालको अर्थ-राजनीति माओवादी सशस्त्र द्वन्द्वको चपेटामा पर्‍यो। उद्योगी व्यवसायीहरू केही पलायन भए। देशमै बसेका व्यवसायीले त्रासदीको समय बिताए।

कलकारखाना र व्यवसायमा माओवादीको आक्रमण स्वाभाविकजस्तै थियो। सामन्त र पुँजीपति भनेर माओवादीले दु:ख नदिएका व्यवसायी नगन्य थिए। चुनौती लिएर नयाँ लगानी गर्नसक्ने अवस्था थिएन।

त्यहीबेला पूर्वी नेपालमा पहिलोपटक डिपार्टमेन्ट स्टोरको नयाँ अवधारणा लिएर इटहरी पुगे बलराम आचार्य। सामान्य किराना पसल र धानको काँटा चलाइरहेका उनले द्वन्द्वको समयमा ठूलो चुनौती लिने निर्णय गरे। भाडाको घरबाट सुरु भएको व्यवसायले एक समय पूर्वी नेपाललाई एकछत्र कब्जा गर्‍यो। 

बलराम ४५ वर्षदेखि व्यवसायमा जोडिएका छन्। खोटाङबाट भारतको नागाल्याण्ड पुगेर व्यापारिक ज्ञान सिकेर नेपाल फर्किएका उनले मोरङको जहदा (केराउन)मा किराना पसल खोले। किरानासँगै धानको काँटा चलाएर व्यापार बढाए। त्यही आसपासका बजारमा ५ ठाउँमा काँटा राखे। दक्षिण मोरङका किसानको प्राय: सबै धान उनैले खरिद गर्थे।

१६ वर्ष सोही व्यापारमा रमाए। व्यापारकै क्रममा धानको आयात निर्यात सहज बनाउन महेन्द्र राजमार्गको कानेपोखरीदेखि केराउनसम्मको बाटो आफैले बनाएको उनी बताउँछन्।

त्यही बीचमा धानको व्यापार गर्ने अन्य व्यापारीले समेत गाउँ-गाउँमा काँटा खोल्न थाले। धान व्यापारमा तीव्र प्रतिस्पर्धा भयो। धानको व्यापारमा मात्र सीमित नहुने सोचेर उनी नयाँ अवसरको खोजीमा निस्किए। सोही क्रममा २०५६ सालमा इटहरी पुगे बलराम। इटहरीमा घर भाडामा लिएर गोरखा डिपार्टमेन्ट स्टोर स्थापना भयो।

gorakha department store - gorakha hotel.jpg

किराना पसलमा गएर बार्गेनिङ गर्ने परम्परालाई अन्त्य गर्ने सोचले स्टोरको सुरुवात गरिएको उनको भनाइ छ। निश्चित मूल्यमा सामान खरिद गर्ने परम्परा बसाउन अभ्यास गरेको उनले बताए। सुरुवातमा ग्राहकलाई बानी बसाउन धेरै समस्या भोगेको बताएका उनले नयाँ कल्चर समाजमा स्थापित गर्नु चुनौतीपूर्ण हुने अनुभव सुनाए।

‘बजारमा नयाँ र चिटिक्क परेको पसल भएपछि धेरैले आक्रोश पोखे। सामान सस्तो बिक्री गरेको भनेर उद्योग वाणिज्य संघमा समेत उजुरी पर्‍यो। कम्प्युटरबाट बिलिङ भएपछि सामान महँगो हुने हल्ला चलाइयो। गाउँघरबाट आउने व्यक्तिहरू जुत्ताचप्पल खोलेर मात्र डिपार्टमेन्टमा छिर्न थाले,’ विगत स्मरण गर्दै उनले भने।

महिला कर्मचारी राखेको आरोपमा समेत व्यापारीले खिसीटिउरी गरे। प्राय: सपिङ मलमा महिला कर्मचारीलाई नै प्राथमिकता दिने गरिएको छ। अहिले पनि गोरखा डिपार्टमेन्टमा अधिकांश महिला कर्मचारी छन्।

भाडाको घरबाट सरेर दुई तल्लामा खुलेको डिपार्टमेन्ट पछि सात तल्लासम्म पुग्यो। त्यसपछि अग्लो घर असुरक्षित हुने हल्ला फैलिएको तितो अनुभव बलरामसँग छ। त्यही बीचमा जग्गाको कारोबार एक्कासि फैलियो। उनले पनि जग्गा कारोबारमा हात हाले। धेरैजसो जग्गामा राम्रै फाइदा कमाएका उनले गोरखा डिपार्टमेन्टलाई थप फैल्याउने योजना बनाए।

पूर्वी नेपालमा गोरखाको एकछत्र व्यापार थियो। भारतदेखि नेपालको विराटनगर, झापा, सप्तरीसम्म, संखुवासभादेखि इलामसम्मका नागरिक गोरखा डिपार्टमेन्टमा सपिङ गर्न आउने गरेको उनको भनाइ छ।

डिपार्टमेन्ट स्टोरको ओरालो यात्रा  

डिपार्टमेन्टको रूपमा सुरु भएको गोरखा अहिले ग्रुप अफ कम्पनी भएको छ। २०६७ साल कात्तिकदेखि गोरखा बेकरी सुरुवात भयो। अढाइ करोड लगानीमा सुरु भएको बेकरीमा ६० जनाले रोजगारी पाएका छन्।

gorakha bakery.jpg

एक समय सबैभन्दा सस्तो खाना खुवाउने भएर चर्चित थियो गोरखा किचेन। गोरखा होटेलको आफ्नै प्रभाव छ। निक्कै व्यवस्थित होटेलको दैनिक न्यूनतम ८० प्रतिशत रुम बुक हुन्छ। ४२ करोडको लगानीमा खुलेको होटेल गोरखा ग्रुपको सबैभन्दा चलायमान व्यवसाय हो।

जग्गा कारोबारमा जमेका बलरामलाई पछिल्लो मन्दीले सतायो। जग्गामा मन्दी आएपछि सम्पूर्ण व्यापारमै प्रभाव परेको उनको भनाइ छ। जग्गासँगै इटहरीको गोरखा डिपार्टमेन्टको व्यापकताले लगातार अन्य चारवटा शाखा खुले। ग्राहकको घरमै पुग्ने मनसायले सुरुवात गरेर विराटचोक, पथरी, दमक र धरानमा बलरामले लगातार उद्घाटन गरे। दमकमा बाहेक अन्यत्र गोरखाका आफ्नै भवन हुन्।

gorakha department  - damak - balaram acharya.jpg

त्यसमध्ये पनि धरानमा शाखा खोल्न धेरै समय अध्ययन गरे। बजार सर्भे गरेर खोलेको धरानको गोरखा डिपार्टमेन्टले सोचेजस्तो प्रतिफल दिएन। जसले उनी केही हच्किए। धरानका मुख्य ग्राहक स्थानीय लाहुरेहरू बिदेसिएको र घर हेरचाह गर्न राखेका आफन्तको क्रयशक्ति नहुने भएपछि डिपार्टमेन्टलाई समस्या भएको उनको भनाइ छ।

अहिले धरानमा बराह र गोरखा बन्द भएपनि भाटभटेनीको व्यापार खासै बढ्न नसकेको उनको बुझाइ छ। व्यवसायलाई जनसङ्ख्याको आधारमा र मुख्यतः व्यावसायिक संस्कारको आधारमा हेर्नुपर्ने बताउँछन् बलराम। दुई अर्बको लगानीमा फैलिएका गोरखाका शाखाले सोचेअनुसार व्यापार पाएनन्। 

दमकमा पनि उनले अपेक्षा गरेअनुसार सफलता पाएनन्। गाउँमा खेती गर्ने र गौरीगञ्जको खुल्ला नाकाबाट सामान आउने दमकमा डिपार्टमेन्ट स्टोर चल्न नसकेको उनको अनुभव छ। दमकको पूर्वी नेपालको ठूलो बजार भएर पनि व्यापारको कल्चर स्थापित भइनसकेको बुझाइमा पुगेका छन् उनी।  

दमकमा पाँच तल्लाको डिपार्टमेन्ट अहिले दुई तल्लामा सीमित छ। अहिलेको अवस्थामा होटेल चल्ने भएपनि लगानीको लागि तयार छैनन् बलराम। ‘एकातिर युवापुस्ता बिदेसिएको र अर्कातिर नेपाली उपभोक्ताको क्रयशक्ति बढ्न नसकेको कारण समस्या परेको छ। बालक, वृद्ध र बिरामीमात्र बस्ने अवस्था भएको छ। यो अवस्थामा व्यापार बढाउने भन्दा पनि खुम्च्याउनु नै उपयुक्त हुन्छ भन्ने लाग्छ,’ उनले भने।

बलरामले आफ्ना दुई छोरालाई समेत आफ्नै बिजनेसमा संलग्न गराएका छन्। छोरा, बुहारीहरू र आफूले समेत तलब पाउनेगरी कम्पनीबाट व्यवस्था मिलाएका छन्। 

गाईपालनमा रमाएका बलराम

कृषि बलरामको पुस्तैनी पेसा हो। खोटाङमा बा र हजुरबाको पालामा समेत सयौँको सङ्ख्यामा गाई-भैँसी पालेको देखेका उनलाई सानैदेखि पशुपालनको मोह बढ्यो। गाउँमा सयौँ गाई-भैँसी चराएको बाल अनुभव उनीसँग छ।

त्यही अनुभवको पुनरावृत्ति हुनेगरी गोरखा गौशाला कृषिउपज प्रालिमा डेढसय भन्दा बढी गाई छन्। भैँसीपालनमा खासै फाइदा नहुने देखेका उनी गाईबाट भरपुर आम्दानी गर्न सकिने सोचमा छन्। ‘भैँसीलाई कमर्सियल बनाउन नसकिने अवस्था छ। दूध दिने समयभन्दा थारो बस्ने समय धेरै भएकाले भैँसी फाइदाजनक छैन। गाईबाट मनग्य आम्दानी गर्न सकिन्छ। गाइको मलमूत्रदेखि सबै उपयोगी हुन्छ,’ आफ्नो अनुभव साट्दै उनले भने।

gai palan.jpg

गोरखाले कम्पोस्ट मलको उत्पादनमा समेत जोड दिएको छ। गोरखा फार्ममा गाईको अलावा ५ हजार कुखुरा छन्। केही समय अगाडी तरकारी खेती समेत गरेका उनले माटोको कारण थप उन्नति गर्न सकेनन्। यो समयलाई व्यापारको भन्दा कृषिउपज उत्पादनको रूपमा बलरामले चिनेका छन्।

कृषि नै धेरै आनन्द र दिगो आम्दानीको स्रोत भएको उनको बुझाइ छ। नेपालको सन्दर्भका कृषि र पर्यटनमात्रै उपयुक्त हुने तर्क गर्छन् उनी। अन्य धेरै देश घुमेको बताएका उनले नेपालमा जति सम्भावना र सुन्दरता अन्यत्र नदेखेको अनुभव सुनाए।

अहिले डिपार्टमेन्टमा पैसा साट्नेमात्र काम भइरहेको भन्दै उनले यो तरल अवस्थामा धेरै कमाउने भन्दा पनि कसरी टिक्ने भन्ने नै मुख्य चुनौती रहेको बताए। बजारको अवस्थाबारे उनले भने, ‘सम्पूर्ण बजारकै अवस्था नाजुक छ। यही अवस्था अझै पनि एक वर्षसम्म कायम रहे हामीले नसोचेको परिणाम भोग्न तयार हुनुपर्छ। सरकारले उद्योगी व्यवसायीलाई उत्प्रेरणा दिने समय हो। जुन हुन सकेको छैन।’

gai palan.jpg

जेनजी आन्दोलनको पक्षमा रहेका उनी विध्वंश र विनाशको विपक्षमा छन्। परिवर्तन हुनुपर्ने बताएका बलरामले आगजनी र उत्पातको भत्र्सना गरे। ‘गल्ती गरेका नेतालाई कारबाहीको दायरामा ल्याउने कुरा जायज हुन सक्थ्यो तर जुन सार्वजनिक सम्पत्तिको विनाश र उद्यमीको मनोबल कमजोर बनाउने प्रयत्न भयो यसले धेरै दु:ख दिएको छ,’ उनले प्रस्ट पारे।

अन्तिममा एकै वाक्यमा उनले थपे, ‘पर्यटक आउने कुरालाई हामीले ध्यान दिनुपर्छ। पर्यटन र कृषिले मात्र हाम्रो समृद्धि हुन्छ। नयाँ पुस्तालाई कृषि र उद्यमशीलतामा जोड्न सक्नुपर्छ। देशमा पर्यटक आएपछि सबै क्षेत्रको विकास एकैपटक हुन्छ। त्यसको लागि हाम्रो सोच पर्यटकमैत्री बनाउनुपर्छ।’


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend