सुनसरी- तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ। बजारमा छठ मनाउनेहरुले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन्।
सुनसरीको रामधुनी नगरपालिका-५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, 'छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ। तीन/चार दिनमा तीन लाख रूपैयाँभन्दा बढीको कारोबार हुन्छ।'
उनले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याइ छठमा बिक्री गर्दै आएका छन्। 'सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ', उनले भने।
व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्यजस्तै मानिन्छन्। बाँसको हस्तकला संरक्षणसँगै स्थानीय रोजगारीमा पनि सहयोग पुगेको उनको भनाइ छ।
'छठ पर्व हामीजस्ता व्यापारीका लागि पनि अवसर हो, बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड हुन्छ, मैले भारतबाट सामान ल्याएर झुम्का, इनरुवा, इटहरीलगायतका बजारमा बिक्री गर्छु', उनले भनिन्।
ग्राहक लक्ष्मी खड्काले भने आफू छठका लागि चोयाको सामग्री किन्न बजार आएको बताइन्। 'छठमा विशेषगरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ', उनले भनिन्।
छठ पर्वले नेपाली समाजमा केवल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन। यसले बाँसको परम्परागत पेसा र हस्तकला संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। व्यापारीले पर्वका अवसरमा राम्रो आम्दानी गर्दै आएका छन् भने स्थानीय र बाह्य स्रोतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेको व्यवसायी बताउँछन्। रासस