काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा ४ खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रूपैयाँ बराबरको निर्यात भएको हो।
यसरी असोज मसान्तसम्ममा कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रूपैयाँको वैदेशिक व्यापारमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रूपैयाँ घाटा बेहोरेको छ।
पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२ करोड ८३ लाख रूपैयाँको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड रूपैयाँ बराबरको घाटा बेहोरेको छ।
त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा १ खर्ब ४ अर्ब ७० करोड रूपैयाँ छ। चीनबाट १ खर्ब ४ अर्ब ८९ करोड रूपैयाँको आयात हुँदा १८ करोड ६४ लाख रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ। यो अवधिमा डेनमार्कबाट चार करोड एक लाखको आयात हुँदा २८ करोड ९९ लाख रूपैयाँको निर्यात भएको हो। यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रूपैयाँ बराबरको व्यापार नाफा भएको छ। जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ।
पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रूपैयाँको एलपी ग्यास आयात भएको छ। यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। रासस