शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पर्सामा छठघाट सजाइयो

आइतबार, कात्तिक ९ २०८२
पर्सामा छठघाट सजाइयो

समितिले यसवर्ष करिब २५ लाख रूपैयाँ खर्चेर छठपर्वलाई भव्य र सभ्य ढंगले अघि बढाउने प्रयास गरेको छ।

पर्सा- छठपर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ। छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज महानगरसहित पर्साका विभिन्न छठघाटमा सरसफाइ गरेर चिटिक्क पार्ने काम गरिएको छ।

मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडीअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, नगवा पोखरी, छपकैयाँ पोखरी रानीघाटसहितका जिल्लाका विभिन्न छठघाट तथा नदीतटमा कलात्मक रङ्गीचङ्गी डिजाइन, झलरबत्तीसहित सरसफाइ र सजाउने काम अन्तिम चरणमा पुगेको छ। आफ्नो टोलछिमेकमा रहेका पोखरी तथा तलाउलाई यहाँका स्थानीयले स्वतस्र्फूत रुपमा खर्च गरेर सजाउने काम गरेका छन्। 

छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेशकुमार साह कानुले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको बताए।

'हामीले जनआस्थाको पर्व छठपर्वलाई लक्षित गरेर घडीअर्वा पोखरीलाई शृङ्गार गरेर चिटिक्क पारेका छौँ', उनले भने, 'घडीअर्वा पोखरीको छठ पर्वमा गरिने झलरसहितका बत्ती र सजावट हेर्नका लागि छिमेकीमूलुक भारतको विहार राज्यका तथा नेपालका पनि काठमाडौं, चितवन, मकवानपुरलगायतका स्थानबाट पर्यटक आउने गर्नुहुन्छ।'

समितिले यसवर्ष करिब २५ लाख रूपैयाँ खर्चेर छठपर्वलाई भव्य र सभ्य ढंगले अघि बढाउने प्रयास गरेको छ।

अध्यक्ष कानुले घडीअर्वाको छठपर्वमा मात्रै एक लाखभन्दा बढी दर्शनार्थीले हेर्ने बताए। तराई-मधेसका महिलाले छठपूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन्। यसवर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ।

छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ।

वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठपर्व मनाइँदै आइएको छ। 'छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढंगले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो', उनले भने, 'वीरगञ्जको घडीअर्वा पोखरीमा छठपूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो, पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ।' रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend