शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

आइतबार, कात्तिक ९ २०८२
लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो।

भोजपुर- जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन्। मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो।

टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका-२ हेलौछा, षडानन्द नगरपालिका-९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक गाउँपालिका-४ र साल्पासिलिछो गाउँपालिका-४ खाटम्मालगायत क्षेत्रमा किसानले सतुवाको व्यावसायिक खेती विस्तार गरेका छन्।

किसानको भनाइअनुसार सतुवा ‘यार्सागुम्बा’ जस्तै शक्तिवर्द्धक जडीबुटी हो। यो क्यान्सर, ग्यास्ट्रिक, पेट दुख्ने, पोल्ने, काट्ने वा पाकेको घाउ, बान्ता, पखाला तथा घाँटी दुख्ने रोगमा उपयोगी मानिन्छ। सर्पको टोकाइ वा विष सेवनका अवस्थामा समेत यसको उपयोग हुने बताइन्छ।

सतुवा करिब एक हजार ४०० मिटर उचाइभन्दा माथिका लेकाली भेगमा राम्रो फस्टाउने गर्दछ। चिस्यानयुक्त, ओसिलो र मलिलो माटो तथा उत्तर-पश्चिम मोहोडा भएको भूभाग यसको खेतीका लागि उपयुक्त हुने किसान बताउँछन्।

यस जडीबुटीको गानो अदुवाजस्तै देखिन्छ। प्रायः एउटा बोटमा एक डाँठ पलाए पनि राम्रो फस्टाएको बोटले धेरैवटा दिन सक्छ। किसानले यसको बिरुवा तथा गाना बिक्री गरेर आम्दानी लिँदै आएका छन्। 

सतुवाखेती लेकाली भेगका किसानाको रोजाइको खेती बन्दै गएको षडानन्द नगरपालिका-१० भिरथाप्लाका निमा शेर्पाले बताए। भदौ-असोजमा फुलेर डाँठ सुक्ने सतुवाको गानो माघ-फागुनमा पुनः पलाउँछ। दुईदेखि तीन वर्षमा फुल्ने सतुवाको एउटै बोटबाट ५० देखि १०० बिरुवा उत्पादन हुन्छ।

स्थानीय व्यवसायीका अनुसार सतुवा मुख्यतः भारत र चीन निर्यात हुने गर्छ। यसका बीउ र बिरुवाको माग सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङजस्ता पहाडी जिल्लाबाट पनि आइरहेको किसानको भनाइ छ। औषधीय गुण, बजार मूल्य र फाइदाका कारण सतुवाखेती भोजपुरका लेकाली भेगका किसानका लागि नयाँ सम्भावना बनेको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend