शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी

आइतबार, कात्तिक ९ २०८२
माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी

युवाहरुले पुर्ख्यौली र परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक बजारसँग जोडेर आम्दानी र पेसाको निरन्तरता सुनिश्चित गरिरहेका छन्।

सुनसरी- इटहरी उपमहानगरपालिका-६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बनेका छन्। उनले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आएका छन्।

पछिल्लो समय गाउँघरदेखि सहर-बजारसम्म माटोका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि यो पुर्ख्यौली पेसा भएकाले पण्डितले यसलाई मुख्य आम्दानीको स्रोत बनाइ निरन्तरता दिइरहेको बताए।

उनले भने, 'हामी सबै परिवार यही माटोको भाँडाकुँडा बनाउँछौँ। हाम्रा जिजुबाजेले पनि यही काम गर्दै आउनुभएको थियो। हामीले यसैलाई निरन्तरता दिएका हौँ। हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत यही हो र यसबाटै घर खर्च चलाउँदै आएका छौँ।'

पण्डितको इनरुवामा माटोको भाँडा बनाउने आरन छ। त्यहाँ बनाइएका भाँडाकुँडा इटहरीमा ल्याएर बिक्री गर्ने गर्छन्। व्यापारी आरनमै पुगेर पनि माटोका भाँडाकुँडा खरिद गर्ने गरेको उनले बताए। जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन। नजिकै राम्रो माटो पाउन गाह्रो छ। पहिले विराटनगर, बर्जुताल क्षेत्रबाट माटो ल्याइन्थ्यो भने अहिले सुनसरी र मोरङका विभिन्न ठाउँमा गएर माटो खरिद गरेर ल्याउने गरेको पण्डितले बताए।

एक ट्रयाक्टर माटोको मूल्य १२ हजारदेखि १८ हजार रूपैयाँसम्म पर्छ। एक ट्रयाक्टर माटोले करिब एक लाख ५० हजार रूपैयाँ मूल्यबराबरका भाँडाकुँडा बनाउन सकिन्छ। सबै खर्च कटाएर पनि मासिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए।

हाल बजारमा प्लास्टिकका सामानको प्रयोग बढे पनि माटोका भाँडाकुँडाको माग अझै पनि उच्च छ। व्यापारीले कारखानामै आएर सामान खरिद गर्ने र पसलमार्फत पनि उति नै बिक्री हुने गरेको पण्डितले बताए। झापा, मोरङ, पाँचथर, इलाम, खाँदबारी, फिदिम, धनकुटा र भोजपुरसम्मका ग्राहकले सामान माग गर्ने गरेका पण्डितको भनाइ छ।

पण्डितले हाल एक सयभन्दा बढी प्रकारका माटोका सामान बनाउने गर्छन्। यसमा रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुत्रुके, गिलासलगायत सामग्री छन्। 'बनाएका सामान बिक्री नहुने चिन्ता हुँदैन। दैनिक कम बिक्री भए पनि सिजनमा राम्रो बिक्री हुन्छ। पहिले सामान बोकेर गाउँगाउँ घुमेर बेच्नुपर्थ्यो, अहिले त्यस्तो अवस्था छैन', उनले भने।

पण्डितका अनुसार हाल पसलमा दुई हजारदेखि आठ हजार रूपैयाँसम्मका सामान बिक्री हुने गरेको छ। तन्दुरी रोटी बनाउने भाँडा पाँच हजारदेखि आठ हजार रूपैयाँ, रक्सी पार्ने पैनि ६ सयदेखि दुई हजार, गमला ३० देखि आठसय, दियो दुईदेखि ३० रूपैयाँ र विभिन्न साना सामान दर्जनका हिसाबले बिक्री हुने गरेको उनले बताए।

पण्डितले भने, 'अहिले छठमा बिक्री बढेको छ। अरुबेला एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुन्छ भने चाडपर्व सुरु भएसँगै मासिक एक लाख ७० हजार रूपैयाँदेखि एक लाख ८० हजार रूपैयाँसम्म कमाइ हुन्छ।'

रामधुनी नगरपालिका-१ झुम्काका व्यापारी नवराज शाहले माटोका भाँडा बनाउने परम्परा घट्दै गएको र यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए। उनले भने, 'माटोका भाँडा जन्मदेखि मृत्युसम्म आवश्यक पर्छ। मैले चार वर्षदेखि यो व्यापार थालेको छु। अहिले छठ पूजा सुरु भएकाले दियो र कलशको माग अत्यधिक छ। मैले इनरुवा, विराटनगर र भारतबाट सामान खरिद गरी बिक्री गर्दा मासिक ४० हजारदेखि ५० हजार रूपैयाँसम्म आम्दानी हुन्छ।'

अहिले पण्डित र शाहजस्ता धेरै कुम्हारहरूले पुर्ख्यौली र परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक बजारसँग जोडेर आम्दानी र पेसाको निरन्तरता सुनिश्चित गरिरहेका छन्। रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend