झापा- चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट ४ अर्ब ४८ करोड ४५ लाख ६८ हजार रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा ५ करोड ९० लाख ३३ हजार अर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ।
आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् ६ करोड ८९ लाख पाँच हजार रूपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए।
कार्यालयको तथ्यांकअनुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब २० करोड ६८ लाख ६२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा २ अर्ब ३२ करोड ७८ लाख रूपैयाँ बराबरकाे २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो।
यसैगरी, १ अर्ब २६ करोड १५ लाख रूपैयाँ बराबरकाे १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ।
त्यस्तै, तीन महिनाको अवधिमा ६२ करोड ८१ लाख रूपैयाँबराबरकाे हजार ३६१ मेट्रिकटन एलपी ग्यास, २० करोड २६ लाख रूपैयाँबराबरकाे दुई हजार २५६ किलोलिटर एटीएफ र तीन करोड ७९ लाख रूपैयाँबराबर ४२० किलोलिटर मट्टितेल आयात भएको छ। रासस