शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, १ सय ९९ जना कारबाहीमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ७ २०८२
उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, १ सय ९९ जना कारबाहीमा

उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन्।

काठमाडौं- जेनजी आन्दोलनपछि दसैँमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ। प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ। 

'तिहारको दिन काठमाडौं उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ', ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, 'ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन।'

उनका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन्। साथै १५ जना मानिस सामान्य घाइते भएका छन्। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागु गरिएको थियो। उनले भने, 'तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो।'

उनका अनुसार भक्तपुर, ललितपुर हुँदै नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलंकी, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारी साधनको आवागमन व्यवस्थापनमा जुटेका थिए। उनले आफू स्वयम पनि दिनभर सडकमा खटिएको बताए। 

'भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो, नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,' प्रहरी प्रमुख अधिकारीले टोलीका सदस्यहरूलाई सम्बोधन गर्दै भने, 'चाडपर्वका बेला सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटनाहरू बढी हुने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ।' रासस 


प्रकाशित : शुक्रबार, कात्तिक ७ २०८२१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend