शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

जापानमा अब चालकविहीन बुलेट ट्रेन, ३२० किलोमिटर प्रतिघण्टाको गतिमा दौडने

शुक्रबार, कात्तिक ७ २०८२
जापानमा अब चालकविहीन बुलेट ट्रेन, ३२० किलोमिटर प्रतिघण्टाको गतिमा दौडने

जापानले अब बुलेट ट्रेनलाई चालकविहीन र अझ तीव्र गतिमा सञ्चालन गर्ने तयारी गरेको छ। हालको २७५ किलोमिटर प्रतिघण्टा गतिलाई बढाउँदै सन् २०२९ भित्र ३२० किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडने नयाँ पुस्ताको उच्चगति रेल शिन्कानसेन सेवा सञ्चालनमा आउने भएको छ।

टोकियो- जापानले अब बुलेट ट्रेनलाई चालकविहीन र अझ तीव्र गतिमा सञ्चालन गर्ने तयारी गरेको छ। हालको २७५ किलोमिटर प्रतिघण्टा गतिलाई बढाउँदै सन् २०२९ भित्र ३२० किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडने नयाँ पुस्ताको उच्चगति रेल शिन्कानसेन सेवा सञ्चालनमा आउने भएको छ। 

पूर्वी जापान रेलवे कम्पनी (जेआर ईस्ट) ले हाल प्रयोगमा रहेको 'ईस्ट आइ' निरीक्षण रेललाई विस्थापित गर्दै कृत्रिम बुद्धिमत्ता र अत्याधुनिक डिजिटल प्रविधिमा आधारित नयाँ मोडेल निर्माण गर्ने घोषणा गरेको हो। कम्पनीका अनुसार यो रेल यात्रु बोक्ने होइन, रेलमार्गको सुरक्षा परीक्षण गर्ने 'ट्रयाक डक्टर' को रूपमा प्रयोग हुनेछ।

नयाँ मोडेल अकिता शिन्कानसेनमा प्रयोग हुने रेलको आधारमा तयार गरिनेछ। यो अधिकतम ३२० किलोमिटर प्रतिघण्टा गतिमा सञ्चालन हुनेछ, जुन हाल प्रयोगमा रहेको हायाबुसा यात्रु रेल बराबरको हो। कम्पनीले भविष्यमा यसलाई पूर्ण चालकविहीन (अटोमेटेड) संस्करणमा रूपान्तरण गर्ने तयारी समेत गरिरहेको जनाएको छ।

हाल सञ्चालनमा रहेको 'ईस्ट आइ' निरीक्षण रेल सन् २००२ देखि तोहोकु, जोएत्सु, होकुरिकु, अकिता र यामागाता शिन्कानसेन मार्गमा रेलमार्गको अवस्था परीक्षण गर्दै आएको छ। सेतो र रातो रंगमा सजिएको उक्त रेलको अधिकतम गति २७५ किलोमिटर प्रतिघण्टा मात्र थियो।

नयाँ पुस्ताको रेलले रेलमार्गका तार, जडान, ट्रयाकको विकृति लगायतको अवस्था निरन्तर अनुगमन गर्नेछ। यसमा कृत्रिम बुद्धिमत्ता, सेन्सर प्रणाली र डिजिटल स्क्यानिङ प्रविधि जडान गरिनेछ।

जेआर ईस्टका अध्यक्ष योइचि किसेले भने, 'प्रत्येक शिन्कानसेन लाइनको प्रविधि फरक हुने भएकाले नवीनतम प्रविधियुक्त विशेष रेलमार्फत मात्र सुरक्षित सञ्चालन सुनिश्चित गर्न सकिन्छ। चालकविहीन प्रविधिले रेल सञ्चालनलाई अझ दक्ष र विश्वसनीय बनाउनेछ।'

यस्तै, जापानका अन्य क्षेत्रमा प्रयोग भइरहेका 'डाक्टर यलो' निरीक्षण रेलहरू क्रमशः अवकाश हुँदैछन्। केन्द्रीय जापान रेलवेको 'टी–४ डाक्टर यलो' यस वर्षै अवकाश भइसकेको छ भने पश्चिम जापान रेलवेको 'टी–५' पनि सन् २०२७ मा सेवा निवृत्त हुनेछ। त्यसपछि ती क्षेत्रमा रेलमार्ग निरीक्षणका काम नयाँ पुस्ताको एन–७००–एस यात्रु रेलबाट नियमित यात्रासँगै गरिनेछ।

जापानले सन् २०३५ सम्ममा पूर्ण चालकविहीन उच्चगति रेल सञ्चालन गर्ने लक्ष्य लिएको छ। यस योजनाअनुसार, आगामी दशकभित्र जापानको बुलेट ट्रेन प्रणाली विश्वकै पहिलो सुरक्षित, स्वचालित र अत्याधुनिक रेल नेटवर्कको रूपमा विकसित हुने अपेक्षा गरिएको छ। एजेन्सी


प्रकाशित : शुक्रबार, कात्तिक ७ २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend