काठमाडौं- जेनजी आन्दोलन र चाडपर्वका कारण प्रशासनिक गतिविधि प्रभावित भए पनि गत असोज महिनामा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ रुपैयाँ राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो सङ्ख्या अस्थिर राजनीतिक अवस्थाबीच समेत उल्लेख्य रूपमा स्थिर देखिएको हो।
चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भए पनि राजस्व सङ्कलन स्थिर देखिएको विभागले जनाएको छ। विभागका अनुसार असोज महिनामा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६० रुपैयाँ, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ रुपैयाँ र पुँजीगत लाभकर एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ रुपैयाँ सङ्कलन भएको छ।
मालपोत कार्यालय चाबहिल काठमाडौँले सबैभन्दा बढी २७ करोड ४२ लाख ९६ हजार दुई सय १० रुपैयाँ राजस्व उठाएको छ। आन्दोलन र आगलागीबाट क्षतिग्रस्त कलङ्की मालपोत कार्यालयले समेत ४१ लाख ५० हजार तीन सय ७१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।
त्यस्तै, मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, र मनमैजु काठमाडौँले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ रुपैयाँ राजस्व सङ्कलन गरेका छन्।
गत असोज महिनामा देशभर २३ हजार तीन सय ५३ वटा लिखत पारित भएका छन्। त्यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, २३ हजार नौ सय १४ वटा रोक्का र १७ हजार नौ सय ३० वटा फुकुवा भएका छन्।
विभागका अनुसार सो अवधिमा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासम्बन्धी कारोबार भएका छन्, जसले राजनीतिक अस्थिरता र कार्यालय क्षतिपछि पनि सम्पत्ति कारोबार क्रमशः सामान्य स्थितितर्फ फर्किन थालेको संकेत गरेको छ।