शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

प्रधानमन्त्री कार्कीको अपिलः ‘फागुन २१ को निर्वाचनमा सहकार्य गरौँ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ’

बुधबार, कात्तिक ५ २०८२
प्रधानमन्त्री कार्कीको अपिलः ‘फागुन २१ को निर्वाचनमा सहकार्य गरौँ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ’

प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सबै राजनीतिक दल र नागरिकलाई सहकार्य गर्न अपिल गरेकी छिन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सबै राजनीतिक दल र नागरिकलाई सहकार्य गर्न अपिल गरेकी छिन्।

नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सरकार मताधिकार प्रयोगका लागि भयरहित वातावरण बनाउन कटिबद्ध रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने दायित्व छ। यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ।’

उनका अनुसार लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको संरक्षणका लागि निर्वाचनको माध्यम अत्यन्त महत्त्वपूर्ण छ। त्यसैले उनले सबै दल, समूह र वर्गलाई परस्पर सहयोग र समन्वयका साथ निर्वाचनमा सहभागी हुन आग्रह गरिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना समेत दिइन्। उनले भनिन्, ‘शंखधर साख्वाले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरेर समाजलाई गरिबीबाट मुक्त गरिदिएका थिए। यही ऐतिहासिक कार्य नै नेपाल संवतको प्रारम्भको आधार बनेको हो।’

वि.सं. २०५६ मा शंखधरलाई राष्ट्रिय विभूति र २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा घोषणा गरिएको उल्लेख गर्दै उनले थपिन्, ‘शंखधर साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के हो भने- व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत स्वार्थभन्दा माथि राष्ट्रिय हितलाई राख्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ।’


प्रकाशित : बुधबार, कात्तिक ५ २०८२०८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend