शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट, बजारमा ‘प्राविधिक सुधार’ को संकेत

बुधबार, कात्तिक ५ २०८२
सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट, बजारमा ‘प्राविधिक सुधार’ को संकेत

विश्व बजारमा सुनको मूल्य मंगलबार एकैदिन करिब ६.३ प्रतिशतले घट्दा यो १२ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावटको रूपमा दर्ज भएको छ। निरन्तर रेकर्ड तोड्दै बढिरहेको सुनको मूल्य तिहारको मध्यमा आइपुग्दा ऐतिहासिक रूपमा घटेको हो।

काठमाडौं- विश्व बजारमा सुनको मूल्य मंगलबार एकैदिन करिब ६.३ प्रतिशतले घट्दा यो १२ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावटको रूपमा दर्ज भएको छ। निरन्तर रेकर्ड तोड्दै बढिरहेको सुनको मूल्य तिहारको मध्यमा आइपुग्दा ऐतिहासिक रूपमा घटेको हो।

‘द फाइनान्सियल टाइम्स’ का अनुसार सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४ हजार ३८१ अमेरिकी डलरसम्म पुगेको थियो। तर मंगलबार मूल्य घट्दै ४ हजार ८२ डलरमा झरेको हो। यो गिरावट सन् २०१३ अप्रिलपछि एकैदिन आएको सबैभन्दा ठूलो हो।

स्वीस कम्पनी एमकेएस पाम्पकी प्रमुख विश्लेषक निकी शिल्सका अनुसार पछिल्ला महिनामा सुनमा अत्यधिक खरिद भएको थियो। 'मूल्य पाउरोटीझैं फुलिरहेको थियो, अब त्यो फुलावट घट्दैछ,' उनले भनिन्। उनका अनुसार यो गिरावट बजारमा आवश्यक ‘प्राविधिक सुधार’ हो र दीर्घकालमा सुनको मूल्य अझै बलियो रहन सक्छ।

यसअघि लगातार दुई महिनाभित्र सुनको मूल्य २५ प्रतिशतले वृद्धि भएको थियो। यही कारण मंगलबारको गिरावटलाई धेरैले ‘ढिलो आएको तर अपरिहार्य सुधार’ को रूपमा व्याख्या गरेका छन्।

सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि घटेको छ। मंगलबार मात्रै चाँदीको मूल्य ७.४ प्रतिशत र प्लेटिनमको मूल्य ५ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

विश्लेषकहरूले मंगलबारको मूल्य घट्नका तीन प्रमुख कारण बताएका छन्, पहिलो, अमेरिकी डलरमा पुनरुत्थानका संकेत देखिनु; दोस्रो, अमेरिका–चीनबीचको व्यापार तनाव घट्ने सम्भावना; र तेस्रो, लगानीकर्ताहरूले उच्च मूल्यबाट मुनाफा लिन थालेको अवस्था।

अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले चीनसँग व्यापार सम्झौता नजिकिएको संकेत दिएको छ। यसले सुरक्षित सम्पत्तिप्रतिको आकर्षण घटाएको छ। त्यसैगरी, विश्व बजारमा सरकारी ऋण नियन्त्रण र ब्याजदर वृद्धिको अपेक्षाले पनि सुनको माग घटाएको बताइन्छ।

गत केही महिनायता सुनको मूल्य बढ्नुमा विश्वका केन्द्रीय बैंकहरूको भूमिकासमेत महत्वपूर्ण रहेको छ। धेरै देशहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण बढाएका छन्। सेप्टेम्बर महिनामा मात्रै सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरू मा २६ अर्ब डलरभन्दा बढी नयाँ लगानी आएको थियो।

जापानदेखि अस्ट्रेलियासम्मका खुद्रा ग्राहकहरू पनि सुन किन्न भीडिँदै आएका थिए। जसले बजारलाई असामान्य रूपमा तातो बनाएको थियो।

स्ट्यान्डर्ड चार्टर्डकी वरिष्ठ विश्लेषक सुकी कूपरका अनुसार अहिलेको गिरावटलाई 'प्राविधिक सुधार' मान्न सकिन्छ। 'पछिल्ला दुई महिनामा सुनमा लगानी गर्ने मानिसहरूको संख्या तीव्र रूपमा बढेको छ,' उनले भनिन्, 'अब उनीहरूको उत्साह र सहनशीलता कति बलियो छ भन्ने परीक्षण भइरहेको छ।'

उनका अनुसार बजारमा अहिलेका जस्ता मूल्य घट्ने अवस्थालाई ‘खरिदको अवसर’का रूपमा हेर्ने लगानीकर्ताहरू पनि धेरै छन्। यही कारण मंगलबारको तीव्र गिरावटपछि बुधबार पुनः केही मूल्य सुधार हुने संकेत देखिएको ब्लुम्वर्गले उल्लेख गरेको छ।

ब्लुम्वर्गका अनुसार सुनको मूल्य घटे पनि यसलाई दीर्घकालीन नकारात्मक संकेतका रूपमा लिन नमिल्ने देखिन्छ। विश्व अर्थतन्त्रमा मुद्रास्फीति र भू–राजनीतिक जोखिम यथावत् रहँदा सुनको माग दीर्घकालमा बलियो रहन सक्ने संकेत छन्।

'यो बजारको स्वास्थ्यका लागि आवश्यक श्वास हो,' ब्लुम्वर्गले उद्धृत गरेको एक अमेरिकी विश्लेषकले भनेका छन्, 'यदि बजार लगातार उकालो मात्र लागिरह्यो भने अस्थिरता अत्यधिक हुन्छ। सुधारले मूल्यलाई दिगो बनाउँछ।'

सुनको मूल्यमा आएको मंगलबारको १२ वर्षयताकै ठूलो गिरावटलाई बजारले आवश्यक ‘सुधार’का रूपमा हेरेको छ। अमेरिकी डलर बलियो बन्दै गर्दा र व्यापार तनाव घट्दै गर्दा सुनको मूल्यमा अल्पकालीन दबाब देखिएको हो।


प्रकाशित : बुधबार, कात्तिक ५ २०८२०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend