शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

मादलले बजार नपाउँदा व्यवसायी निराश, सीप नबिकेपछि पेसाबाटै पलायन

मंगलबार, कात्तिक ४ २०८२
मादलले बजार नपाउँदा व्यवसायी निराश, सीप नबिकेपछि पेसाबाटै पलायन

आधुनिकताले छोएसँगै मादल बिक्न छाडेको व्यवसायी बताउँछन्। सीप नबिकेपछि पेसा परिवर्तन गर्नुपर्ने चुनौती थपिएको छ।

बागलुङ- पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आएका थिए। मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ।

परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए। तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन्। मादल व्यवसाय संकटमा परेपछि उनले पेसा बदल्नु परेको छ। बुबा, बाजे र दाइहरुबाट सिकेको सीपले परियारलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो। अहिले छोराहरु विदेश पलायन भएका छन्।

परियारले आफूसँग भएको सीप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुःखेसो गरे। उनी भन्छन्, 'मलाई ५/७ वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले अरू काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी-बालुवा कुटेर पेट पालेको छु।'

परियारले पहिले बाह्रै महिना मादलको माग आउने गरेको र पछि-पछि चाडबाडको बेलामात्र ग्राहक आउने गरेको बताए। उनले कुनैबेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए। मादलको मूल्यसमेत घटेको परियार बताउँछन्।

'मेरो पसलमा पहिले बाह्रैमास मादल किन्नेहरु आउँथे, हरेक महिना कम्तीमा १० मादल बिक्री गर्थे, मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे। कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झन्डै पाँच लाख कमाइ गर्थेँ,' परियारले भने, 'अहिले मादल किन्न बेलामौकामा एक/दुई जना आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको एक हजार २०० रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्ममा बेच्ने गर्थेँ।'

परियारले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए। गाउँ तथा सहरमा देउसी-भैलो खेल्नेहरुले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला-ठूलो साउन्ड सिस्टमहरु किन्ने गरेको उनको भनाइ छ। 'तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो, अहिले देउसी-भैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ,' उनले भने।

ढोरपाटन-२ का मकरबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो। उनको पनि अचेल मादल कमै बिक्री हुन्छ। वार्षिक १२ सयभन्दा बढी मादल बेच्ने उनले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए। पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनसान रहेको बताए।

'चार वर्ष भइसक्यो मादल कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, अहिले बिक्री नै हुँदैनन्,' नेपालीले भने, 'वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरू नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन।'

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए। उनी मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि संकटमा पर्न थालेको बताउँछन्। अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरु बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउन्ड सिस्टमहरुको प्रयोग हुन थालेको नेपालीको भनाइ छ।

'आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल  घन्किने गर्थे, विद्युतको पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,' उनले भने, 'अब मादल र बाजाहरु हराउँदै जाने खतरा छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे।'

अब विद्युतीय सामग्रीको माग बढेको छ। बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला-ठूला साउन्ड सिस्टम र माइकको माग बढेको बताए। रासस 


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२१६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend