शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

धरानमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

मंगलबार, कात्तिक ४ २०८२
धरानमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन्। यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ।

सुनसरी- तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालोमात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ। बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ।

धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन्।

उनले भने, 'बिहान र साँझ उपभोक्त बढी आउछन्। दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन्। अहिले दैनिक १५ देखि २० हजार हजार रूपैयाँसम्मको कारोबार भइरहेको छ।'

अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन्। दियो, रंग, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रंग, सुगन्ध र झिलिमिलीले भरिएको छ।

धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन्। मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ। दैनिक २० हजार रूपैयाँसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन्।

तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ। किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ। बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ। दसैँपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई सांगीतिक चाडसँगै फूल माला, रंग र उज्यालो पर्वका रूपमा लिने गरिन्छ।

बत्ती व्यापारी निरज कोइरालाले भने, 'पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएको छ। आधुनिक झिलिमिली बत्तीको माग बढी हुने भएकाले अहिले बिक्री बढी हुन्छ छ।'

बजारमा अहिले बिजुली (इलेक्ट्रिक) पसलदेखि विभिन्न खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्ने गरेको उनको भनाइ छ। अन्य चाडपर्व र बिहेको याममा कममात्र बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले जानकारी दिए। 

धरानको मुख्य बजार, भानुचोक, सब्जी मन्दिर पुरानो बजारलगायत ठाउँमा बत्ती, फूल मालालगायत सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ। व्यापारीले तिहार आउन केही महिनाअघिदेखि झिलिमिली बत्ती बिक्री गर्नका लागि सामान ल्याइसकेका कोइरालाले बताए।

तिहार सुरु भएसँगै बजार सक्रिय भएको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गर्दा मनग्य आम्दानी जुटाउने अवसर पाएका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए।

उनले भने, 'अहिले तिहारमा विशेष गरी सडकका पेटी र गल्लीमा पसल सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती भीड र सडक व्यवस्थापन हो। कहिलेकाहीँ भीडले पसल वरिपरि आवागमन कठिन बनाउँछ। यस्तो समयमा संघले प्रशासनसँग मिलेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेका छौँ, जसले व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नसक्ने अवसर पनि पाउँछन्।'

सडकमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागु गरेर ग्राहक र व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको उनले बताए। बजार प्रचार, व्यवसाय वृद्धि तालिम र सहुलियतपूर्ण सहयोग कार्यक्रममार्फत व्यापार अवसर बढाउन र ग्राहकलाई सुविधा दिन संघ सक्रिय रहेको उनको भनाइ छ। 

तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन्। यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ। 'ग्राहकको भीड बढ्दै गर्दा व्यापारीको उत्साह पनि बढ्छ र आफ्नो आम्दानी जुटाउन सकिरहेका छन्', अध्यक्ष श्रेष्ठले भने। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend