शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पहिलेजस्तो छैन पालाको व्यापार, बिक्रीमा कमी आएको वीरगञ्जका व्यापारीको गुनासो

मंगलबार, कात्तिक ४ २०८२
पहिलेजस्तो छैन पालाको व्यापार, बिक्रीमा कमी आएको वीरगञ्जका व्यापारीको गुनासो

अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्छन्।

पर्सा- वीरगञ्ज महानगर-११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहेका छन्। तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्छन्।

'अघिल्ला वर्षमा त दिनकै पाँच हजार रूपैयाँसम्म व्यापार हुने गर्थ्यो। अहिले त मुस्किलले २५ सय रूपैयाँको व्यापार हुन पनि मुस्किल परिरहेको छ', उनले भने, 'पहिलाजस्तै दियो तथा पालाको व्यापार हुन भने छाडेको छ।'

प्रजापतिले दसैँको टीकापछि छठसम्मको अवधिमा माटाका विभिन्न थरिका सरसामान बिक्री गर्दै आइरहेको बताए। सडकमा माटोबाट बनाइएका दियो, घैला, नदिया, खपरी, ढकनालगायत माटाका सरसामान बेचबिखन गर्दै आइरहेका छन्।

त्यस्तै, वीरगञ्जको घण्टाघरसँगै रहेको बीपी उद्यानको फुटपाथमा माटाका भाँडा बेच्दै आइरहेका बिर्जु पडित प्रजापतिले पनि यस वर्ष दीपावलीमा प्रयोग हुने पाला तथा दियोको व्यापारमा कमी आएको गुनासो गरे।

'एक दशकदेखि माटाका विभिन्न भाँडाकुँडा बेचबिखन गर्दै आइरहेको छु', उनले भने, 'अहिलेका मान्छेहरू झलर तथा झिलीमिली बत्ती किन्ने भएकाले पनि माटाका भाँडाकुँडामा खासै ध्यान दिँदैनन्।'

वीरगञ्ज १२ मुर्लीका चन्द्र हजारा ठाकुर तिहारमा आवश्यक पर्ने विभिन्न माटाका दियो तथा अन्य सरसामान किन्ने गरेको बताए। 'दीपावली र छठमा माटाका भाँडाकुँडा वर्षौँदेखि किन्दै आइरहेका छौँ', उनले भने, 'पछिल्लो समय मान्छे आधुनिक भएसँगै माटाका दियो, पालालगायत सामान किन्न छाडेको देखिन्छ।' 

व्यापारीका अनुसार साना खालका दियो १०० थानको एकसय ५० रूपैयाँ पर्ने गर्छ। त्यसैगरी, सानो प्रकृतिको घैला ९० र ढकना पनि एकसय रूपैयाँमा पाइने गर्छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend