शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ६.१९ प्रतिशत

मंगलबार, कात्तिक ४ २०८२
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ६.१९ प्रतिशत

बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ।

बागमती- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको ६ दशमलव १९ प्रतिशत अर्थात् चार अर्ब १७ करोड ९१ लाख २६ हजार रूपैयाँ बजेट खर्च भएको छ।

चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रूपैयाँको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा चार अर्ब १७ करोड ९१ लाख २६ हजार रूपैयाँ बजेट खर्च भएको उनले बताए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १९ दशमलव ५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend