शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

दैलेखको प्राकृतिक ग्यास उत्पादन परीक्षण गरिँदै, अन्तिम प्रतिवेदनको तयारीमा चिनियाँ पक्ष

सोमबार, कात्तिक ३ २०८२
दैलेखको प्राकृतिक ग्यास उत्पादन परीक्षण गरिँदै, अन्तिम प्रतिवेदनको तयारीमा चिनियाँ पक्ष

प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि नेपाल र चीनका प्राविधिक टोलीबीच प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गर्ने तयारी भएको हो।

काठमाडौं- दैलेखको जलजले क्षेत्रमा चिनियाँ विज्ञहरूले गरेको अन्वेषणबाट ठूलो परिमाणको प्राकृतिक ग्यास भण्डार रहेको प्रारम्भिक प्रतिवेदनपछि त्यसलाई अन्तिम रूप दिने तयारी तीव्र पारिएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार चिनियाँ पक्षले अन्तिम प्रतिवेदन आउने डिसेम्बरसम्ममा तयार पार्ने तयारी गरेको छ। त्यसअघि नेपाल र चीनका अधिकारीबीच यसै हप्ताभित्र छलफल हुने भएको छ।

दैलेखको जलजले क्षेत्रमा गरिएको पेट्रोलियम अन्वेषणमा ठूलो परिमाणको प्राकृतिक ग्यास भेटिएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक यसअघिनै सार्वजनिक भइसेको छ। खानी तथा भूगर्भ विभाग र चीनको छेङ्दु सेन्टर अफ चाइना जियोलजिकल सर्वेले संयुक्त रूपमा गरेको अध्ययनले जलजलेमा करिब १ खर्ब १२ अर्ब १० करोड घनमिटर प्राकृतिक ग्यास रहेको देखाइसकेको छ।

प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि नेपाल र चीनका प्राविधिक टोलीबीच प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गर्ने तयारी भएको हो।

विभागका महानिर्देशक दिनेशकुमार नापितका अनुसार दुवै देशका अधिकारी र विज्ञबीच यही हप्ताभित्र बैठक हुने भएको छ। उक्त छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभागका प्रतिनिधि केही दिनमै चीन प्रस्थान गर्ने तयारीमा छन्। उनका अनुसार चिनियाँ पक्षले डिसेम्बरसम्ममा अन्तिम प्रतिवेदन बुझाउने जानकारी दिएको छ।

नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनबीच पहिलो सहमति सन् २०१६ मार्च २३ मा भएको थियो। त्यसपछि सन् २०१७ अगस्ट २५ मा आयल एन्ड ग्यास रिसोर्स सर्वे प्रोजेक्टमा सहयोगसम्बन्धी सम्झौता र सन् २०१९ फेब्रुअरी २८ मा कार्यान्वयन सम्झौता भएको थियो। सोहीअनुसार २०१९ देखि २०२५ सम्मका लागि परियोजना सुरु गरिएको र पछि थप तीन वर्ष म्याद विस्तार गरिएको विभागले जनाएको छ।

करिब १३६ मिलियन आरएमबी अर्थात् सवा दुई अर्ब रुपैयाँको लागतमा सञ्चालन भइरहेको यो परियोजना खानी तथा भूगर्भ विभाग र छेङ्दु सेन्टर अफ चाइना जियोलजिकल सर्वेले संयुक्त रूपमा कार्यान्वयन गरिरहेका छन्। चिनियाँ पक्षको टोलीले गत असारमा प्रारम्भिक प्रतिवेदन बुझाउँदै दैलेखको भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा ठूलो परिमाणको प्राकृतिक ग्यास भण्डार रहेको पुष्टि गरेको हो।

अन्वेषणका क्रममा हालसम्म नेपालमा सबैभन्दा गहिरो ४ हजार १३ मिटरको ड्रिलिङ गरिएको थियो। उक्त वेल (एनडीपी-१) मा विभिन्न तहका चट्टानबाट जम्मा नौ इन्टरभलमा ५० नमूना र ३ हजारभन्दा बढी रक कटिङ नमूना संकलन गरी परीक्षण गरिएको थियो।

प्रारम्भिक नतिजाले ती तहहरूमा मिथेन (सीएच ४) ग्यासको मात्रा ९० प्रतिशतभन्दा बढी रहेको देखाएको छ। मिथेन ग्यास खाना पकाउने एलपीजी ग्यासभन्दा वातावरणमैत्री र सस्तो हुने भएकाले यो स्रोत नेपालका लागि दीर्घकालीन ऊर्जा सुरक्षाको दृष्टिले महत्वपूर्ण मानिएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार ग्यास उत्पादन परीक्षणका लागि करिब ६५ करोड रुपैयाँ आवश्यक पर्नेछ। चिनियाँ कम्पनीले सो परीक्षणका लागि आवश्यक तयारी अघि बढाइसकेको र आवश्यक प्रविधिक र प्राविधिक सहयोगबारे छलफल भइरहेको जनाइएको छ।

विभागका महानिर्देशक नापितका अनुसार यो परियोजनामा हालसम्म सवा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने काम सम्पन्न भएपछि विभागको अन्वेषण कार्य समाप्त हुने उनले बताए। व्यावसायिक उत्पादन सम्भव छ कि छैन भन्ने अध्ययन भने नेपाल सरकारले छुट्टै गर्ने तयारी गरेको छ।

विभागका अनुसार दैलेखमा प्राप्त नतिजापछि दाङ, पाल्पा र सुनसरीमा पनि विस्तृत पेट्रोलियम अन्वेषण गर्ने योजना बनाइएको छ। यसअघि दैलेखको उक्त क्षेत्रमा करिब ४५ रोपनी जग्गा अधिग्रहण गरी अन्वेषण कार्य अघि बढाइएको थियो।

टर्कीको ब्ल्याक सी क्षेत्रमा गत मे महिनामा भेटिएको ७५ अर्ब घनमिटर ग्यास भण्डारभन्दा दैलेखको जलजले क्षेत्रमा पाइएको भण्डार अझ ठूलो भएको विभागले जनाएको छ। प्रारम्भिक तथ्यांकका आधारमा नेपालमा पहिलोपटक भेटिएको यति ठूलो परिमाणको प्राकृतिक ग्यास देशको ऊर्जा स्वावलम्बनका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।


प्रकाशित : सोमबार, कात्तिक ३ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend