शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ४० प्रतिशत सकियो

आइतबार, कात्तिक २ २०८२
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ४० प्रतिशत सकियो

भरतपुर महानगरका इन्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ।

चितवन- भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रंगशाला निर्माण गरेको हो।

भरतपुर महानगरका इन्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ। प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उनले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताए। उनका अनुसार टावर तीन तलाको हुनेछ।

'प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम हुँदैछ। रंगशालामा चारवटा प्यारापिट र दुईवटा टावर रहेका छन्', मिश्रले भने, 'दैनिक १२२ जनाले काम गरिरहेका छन्। तिहार लागेसँगै मुस्लिम समुदायका २५-३० जनाले मात्र काम गर्नेछन्। छठपछि कामले तीव्रता पाउने छ।'

ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए।

धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो। हिमालयन कालिञ्चोक बिबिआर जेभीले रंगशाला निर्माणको जिम्मा पाएको छ। विसं २०८३ पुस २२ गतेसम्ममा रंगशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँमा ठेक्का लगाइएको महानगरले जनाएको छ।

पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ। पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुईवटा भीआईपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने महानगरका इन्जिनियर मिश्रले जानकारी दिए। उनका अनुसार थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ। 

त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रंगशाला निर्माण भइरहेको हो। यो भरतपुर महानगरपालिका-१५ मा पर्दछ। अन्तर्राष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रंगशाला निर्माण भइरहेको हो। रासस


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend