म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-३ को सिमाना अर्जेखोलामा पर्ने झोलुंगे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन्। बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन्।
करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो। मर्मत भएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या अन्त्य भएको स्थानीय बताउँछन्।
स्थानीयद्वारा उपलब्ध टुनीको रुख काटेर फल्याक बनाइएको थियो। पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एकसय स्थानीयले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले जानकारी दिए। उनका अनुसार काठ काट्न र सामग्री खरिद गर्न ६६ हजार ६ सय रूपैयाँ खर्च भएको छ।
अहिले पनि स्थानीयबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताए। करिब ३० मिटर लामो उक्त पुल मर्मतपछि अर्जेखोला, खर्क, बनाहपिङ्गे, थामडाँडा, सिङ्गा, तातोपानीलगायत क्षेत्रका बासिन्दा लाभान्वित हुने उनको भनाइ छ।
सडक, यातायातको सुविधा पुग्नुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आउजाउ गर्न यही झोलुंगे पुल हुँदै पदमार्गको प्रयोग गर्दथे। बिजुली आमा समूह, सामुदायिक वन, बी एण्ड पी क्लबलगायत स्थानीय संघसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले जानकारी दिए। रासस