काठमाडौं- राजनीतिक अस्थिरता र जेनजी आन्दोलनका कारण निजी क्षेत्रको मनोबल कमजोर बनेको छ। लगानीकर्तामा त्रास बढ्दै गएको छ भने सरकारले आवश्यक सुरक्षाको ग्यारेन्टी दिन नसक्दा अर्थतन्त्रमा नकारात्मक असर परेको देखिन्छ।
सोही कारणले आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको राजस्व संकलन सुस्त भएको छ। सरकारले अझै पर्याप्त सुरक्षाको ग्यारेन्टी दिन नसक्दा दीर्घकालीन आर्थिक प्रभाव देखिने संकेतहरु देखिएका छन्।
अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ५१ अर्ब १८ करोड रूपैयाँ राजस्व संकलन भएको छ। जुन सो अवधिको ३ खर्ब २१ अर्ब ५३ करोड रूपैयाँ लक्ष्यको ७८.१२ प्रतिशत मात्र हो। असोज महिनामा मात्रै ९२ अर्ब ४७ करोड रूपैयाँ राजस्व उठाइएको छ। जुन महिनाको लक्ष्य १ खर्ब ३ अर्ब ७ करोडको ८९.७१ प्रतिशत बराबर हो।
गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५३ अर्ब १ करोड रूपैयाँ राजस्व उठाइएको थियो। सो तुलनामा चालु वर्षको संकलन करिब १ अर्ब ८३ करोड रूपैयाँले घटेको देखिन्छ। गत वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेकोमा यस वर्ष सरकारले लक्ष्य बढाएर १४ खर्ब ८० अर्ब रूपैयाँ तोकेको छ। तर, पहिलो चौमासिकको अन्त्यतिरै लक्ष्यअनुसारको प्रगति हासिल गर्न नसक्नु राजस्व वृद्धिदरमा सुस्ततालाई संकेत गर्छ।
निजी क्षेत्रका प्रतिनिधिहरूले जेनजी आन्दोलन र त्यसपछिको अस्थिर अवस्थाले लगानी वातावरण पूर्णरूपमा कमजोर बनाएको बताएका छन्। आन्दोलनका कारण उद्योग, व्यापार, यातायात र पर्यटन क्षेत्र सबै प्रभावित भएका छन्। निजी क्षेत्रको मात्रै करिब १ खर्ब रूपैयाँ बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ। यता सरकारी तथा निजी क्षेत्र मिलाएर कुल क्षति करिब ३ खर्ब रूपैयाँ पुगेको प्रारम्भिक मूल्यांकन गरिएको छ।
अर्थतन्त्रको गति सुस्त छ। लगानीकर्ताले न त नयाँ योजना अघि सार्न सकेका छन्। न त सुरु गरेका परियोजना सञ्चालनमा सहजता पाएका छैनन्। विद्यमान असुरक्षा र नीतिगत अस्थिरताले विदेशी लगानी समेत रोकिएको छ। अर्थविद्हरूका अनुसार सरकारले लगानीमैत्री वातावरण र राजस्व प्रशासन सुधारमा ठोस कदम नचाले आगामी महिनाहरूमा पनि राजस्व संकलन लक्ष्य पूरा गर्न कठिन हुनेछ।
असोज मसान्तसम्म राजस्व विभागहरूद्वारा संकलित मुख्य करमध्ये भन्सार महसुलबाट करिब ५ अर्ब १९ करोड ७७ लाख रूपैयाँ, उत्पादन र आयातित वस्तुमा लगाइएको मूल्य अभिवृद्धि करबाट ७ अर्ब ५० करोड ८८ लाख रूपैयाँ, र आयकर शीर्षकबाट करिब ५ अर्ब १५ करोड ५६ लाख रूपैयाँ संकलन भएको देखिन्छ।
भन्सार विभागले असोजसम्म जम्मा १ खर्ब ४३ अर्ब ७६ करोड रूपैयाँ, आन्तरिक राजस्व विभागले १ खर्ब ११ अर्ब ६५ करोड रूपैयाँ, र अन्य गैरकर राजस्वबाट २८ अर्ब ५७ करोड रूपैयाँ संकलन गरेको सरकारी तथ्यांकले देखाउँछ।