काठमाडौं- संसारकै ठूलो धान उत्पादक देश भारतले धानमा मौलिक क्रान्ति गर्न थालेको छ। आफ्नो समग्र व्यापार, अर्थतन्त्रलाई दाउमा लगाएर जुन प्रविधिको आयातलाई भारतले अस्वीकार गरिरहेको छ, त्यही प्रविधिको मौलिक विकास गरेको पाइएको छ।
धानको विश्वकै पावरहाउस मात्र नभएर नेपालको समेत भरोसा रहेको भारतले आनुवंशिक परिवर्तन गरिएको धानको खेतीका लागि अनुमति दिने भएको छ। अमेरिकासँग यही खेतीको उत्पादन आयातमा कसिलो नीतिमा टसमस नभएर टसल बढाएको भारतले आफै विकास गरेर उत्पादन गर्ने भएको छ।
आनुवंशिक सुधार गरिएको बीउको खेती संसारमा विवादरहित छैन। भारतमै विरोध व्यापक भएरै आयातमा कडाइ गरिएको थियो तर कपासमा भने खुला थियो। खाद्यान्नमा भने उत्पादनदेखि उपभोगसम्म प्रतिबन्ध छ।
यस्तोमा भारतको सरकारी पहलमा धानको जीन सुधार गरिएको छ। यो सुधार मौसमी अनुकूलन, उत्पादनमा बढोत्तरीमा केन्द्रित गरिएको दाबी गरिएको छ।
यसको उत्पादन, स्वाद सामान्य धानकै कायम हुने तर उत्पादन १९ प्रतिशत बढ्ने, २० प्रतिशत न्यून उत्सर्जन, र पानीको आवश्यकता घट्ने दाबी गरिएको छ। बढ्दो मौसमी असन्तुलनमैत्री खेतीका लागि यो बीउको विकास गरिएको दाबी गरिएको छ। तर यसको वास्तविक परीक्षण भने किसानले उत्पादन गरेपछि थाहा हुने छ।
भारतले धानसँगै अन्य उपजको पनि आनुवंशिक सुधार गरिहेको छ। भारतको यो प्रयासलाई युरोपियन कृषि तथा खाद्य वैज्ञानिकहरूले नै क्रान्ति हुनसक्ने सम्भावनामा रहेको बताएका छन्। उनीहरुले यस्तो भन्नुका पछाडिको कारण अहिलेसम्म यस्तो बीउको विकास तथा वितरणमा बालीभन्दा बहुराष्ट्रिय कम्पनीको नाफा थियो।
बायर समूहको सहायक कम्पनी मोन्सान्टोले यो प्रविधिलाई बदनाम गराएको छ। बीउ र रसायन दुवै विकास गर्ने यो बहुराष्ट्रिय कम्पनी बीउको अनुवंश परिवर्तन बालीलाई बलियो र उत्पादनशील बनाउनेभन्दा आफ्नो रसायन बिक्रीका लागि तयार गरेको छ।
उत्पादनमा सुधार त्यतिबेला माग सम्भव हुन्छ जतिबेलासम्म उसैले उत्पादन गरेको रसायन हालिन्छ। प्रत्येक वर्ष उसैको बीउ महँगोमा खरिद गर्नुपर्ने दुश्चक्रमा किसान फस्छन्।
भारतले भने यो दुश्चक्र तोड्ने विश्वास गरिएको छ। पहिलो भारतले रासायनिक प्रयोगमैत्री नबाउने, दोस्रो वितरणमा नाफामूलक कर्पोरेट सहभागीता न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। यदि त्यसो भएमा जीएमप्रति गुमेको विश्वास फिर्ता हुनेछ।