शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

राति ९ बजेपछि देउसीभैलो नखेल्न काठमाडौं प्रशासनको आग्रह

शनिबार, कात्तिक १ २०८२
राति ९ बजेपछि देउसीभैलो नखेल्न काठमाडौं प्रशासनको आग्रह

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायतका उपभोक्ता हितविपरीतका कार्य नगर्न भनिएको छ।

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावलीको अवसरमा कानूनद्वारा वर्जित गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ।

कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। 

दीपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका ९ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ।

'सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसीभैलो खेल्न पाइने छैन। सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन', सूचनामा भनिएको छ।

चाडपर्वको समयमा सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको उल्लेख गर्दै सूचनामा घर खाली नहुने गरी चनाखो र सतर्क भइ आ-आफ्नो घर रेखदेख गर्न, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा एकाइमा खबर गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायतका उपभोक्ता हितविपरीतका कार्य नगर्न भनिएको छ। सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने र गराउने कार्य गर्न समेत ध्यानाकर्षण गराइएको छ।

गैरकानूनीरुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक १ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend