शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै नेपाल राष्ट्र बैंकले जारी गर्‍यो निर्देशिका

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै नेपाल राष्ट्र बैंकले जारी गर्‍यो निर्देशिका

क्षेत्रगत रूपमा हेर्दा भाडामा गाडी बिक्री गर्ने कम्पनी तथा हायर पर्चेज कम्पनीहरूसँग सम्बन्धित नयाँ शंकास्पद संकेतहरू निर्देशिकामा थपिएका छन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी निर्देशिका अद्यावधिक गरी नयाँ निर्देशिका जारी गरेको छ। 

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाइमा पेश गर्नुपर्ने शंकास्पद कारोबार वा गतिविधि पहिचान गर्न सहज र व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले निर्देशिका सार्वजनिक गरिएको जनाइएको छ।

निर्देशिकामा शंकास्पद संकेतहरूलाई तीन प्रकारमा वर्गीकरण गरिएको छ। साधारण रूपमा देखिने संकेत, सूचक संस्थाको प्रकारअनुसार देखिने संकेत तथा कसुरसँग सम्बन्धित संकेत गरी तीन भागमा विभाजन गरिएको छ।

साधारण संकेततर्फ कृत्रिम बुद्धिमत्ता र नयाँ प्रविधिको प्रयोगसँग सम्बन्धित विषयहरू थपिएका छन्। त्यस्तै प्रभावशाली व्यक्ति अर्थात् राजनीतिक रूपमा संलग्न व्यक्तिहरूको सहभागिताबारे पनि छुट्टै संकेत समावेश गरिएको छ।

क्षेत्रगत रूपमा हेर्दा भाडामा गाडी बिक्री गर्ने कम्पनी तथा हायर पर्चेज कम्पनीहरूसँग सम्बन्धित नयाँ शंकास्पद संकेतहरू निर्देशिकामा थपिएका छन्। साथै विभिन्न प्रकारका अपराधसँग सम्बन्धित कारोबारहरू पहिचान गर्नका लागि छुट्टै संकेतहरू पनि समावेश गरिएका छन्।

निर्देशिकामा शंकास्पद कारोबार प्रतिवेदन पेश गर्ने तरिका, समय र विवरणका बारेमा व्यवस्था गरिएको छ। यसले सूचक संस्थाबाट आउने प्रतिवेदनको गुणस्तर बढाउने र सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध पहिचान तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१३:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend