शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँ लगानी, ५३ हजारलाई रोजगारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँ लगानी, ५३ हजारलाई रोजगारी

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ। कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ।

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ। फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो। 

पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ। नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रुप धारणा गरेको हो।

पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो।

यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ। छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ।

विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ। तिहारमा काठमाडौं  उपत्यकाभित्र मात्र ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन्।

फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको उनको भनाइ छ। बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहर तथा देशका ५२ जिल्लामा पुष्पखेती भइरहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। 

'नेपालको वातावारण फूलखेतीका लागि अनुकूल छ', उनले भने। देशभरका झण्डै २७० हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ। पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको र ५३ हजार ५ सय व्यक्तिलाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए।

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ। कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ।

आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएको थियो भने २०८१/८२ मा तीन अर्ब ३७ करोडको कारोबार भएको अध्यक्ष श्रेष्ठले बताए।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात एक करोड दुई लाख १२ हजार कारोबार रहेकामा आव २०८१/८२ मा दुई करोड १३ लाख ६० बराबरको निर्यात भएको थियो।

नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, युएईलगायत मुलुकमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ। 

काठमाडौं महानगरपालिकाले भने यस वर्ष स्वदेशमै उत्पादित फूललाई प्रवद्र्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनअघि पत्रकार सम्मेलन गरेर विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने नीति महानगरले लिएको बताएका थिए। रासस 


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend