शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

श्रेष्ठले तिहारका लागि मात्रै नभइ यसबेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरिरहेकी छिन्।

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका-८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छिन्। गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ।

उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छिन्। गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन्। श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्रीका पाँच हजार बिरुवा रोपेकी थिइन्। 

तिहारका बेला बजारको समस्या नहुने भए पनि अहिलेको फुलेको फूललाई तिहारसम्म संरक्षण गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन्। उनले भनिन्, 'अघिल्लो वर्ष बजारको समस्या थिएन। तिहारका लागि बजारको समस्या हुँदैन। तिहारपछि भने बजारको समस्या हुँदै आएको छ।'

श्रेष्ठले तिहारका लागि मात्रै नभइ यसबेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरिरहेकी छिन्। विशेषगरी सहकारी संस्थाको साधारणसभाका लागि सयपत्रीको मालाको माग आउने गरेको उनको भनाइ छ।

उनका अनुसार एउटा फूलको थुंगा पाँच रुपैयाँसम्म बिक्री हुने गरेको छ। यो वर्षका लागि पनि फूलको बारेमा सोधपुछ गर्ने क्रम बढेको उनले बताइन्। फेसबुक, टिकटकमा फूलको भिडियो हालेपछि केही ठाउँमा सोधखोज गर्ने बढेको श्रेष्ठले उल्लेख गरिन्। गत वर्षको तिहारमा मात्र श्रेष्ठले एक लाख रुपैयाँको सयपत्री फूल बिक्री गरेकी थिइन्। उनले भनिन्, 'यो वर्ष अलि छिटो फुलेका कारण के हुन्छ भन्न सकिएन।'

उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी हुन्। उनले भनिन्, 'पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ।'

विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने श्रेष्ठले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्। श्रेष्ठले भनिन्, 'हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो। नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।' रासस


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend