शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

बिहीबार , असोज ३० २०८२
सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताउँदै प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, 'बरु कानूनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ। जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडित रुँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरौँ।'

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गरेकी थिइन्।

सो क्रममा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताइन्। 'ठगेर खानेलाई छाड्न मिल्दैन। बरु कानूनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ', प्रधानमन्त्रीले भनिन्, 'अहिले नै गर्नुपर्छ। हामीले नै गर्नुपर्छ। यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो। यसैका लागि आएको हो।'

सहकारी ठगी गर्नेहरुको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ थियो। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२१७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend