काठमाडौं- चाडपर्व नजिकएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ। कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन थालेको हो। नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको कामपाले जनाएको छ।
काठमाडौं महानगरपालिका कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार कानूनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमानुसार आउन निर्देशन दिइएको जनाउँदै अटेर गरेमा कानूनबमोजिम कारबाही गरिने बताए।
प्रमुख न्यौपानेले भने, 'महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैका लागि फाइदा हुन्छ।'
कामपा खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले सशक्तीकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको छ। उनले भने, 'हामी बजार कस्तो र कुन अवस्था छ भनेर बुझ्दैछौँ। व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्यांकन गर्दैछौँ। राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ; त्यति गर्दा पनि अटेर गर्नेलाई कानूनबमोजिम कारबाही हुन्छ।'
महानगरले मापदण्डविपरीत सञ्चालन भएका व्यवसायलाई खाद्य अनुज्ञापत्रमा तोकिएका वस्तुमात्र प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, मास्क-एप्रोन-पञ्जाजस्ता खाद्य स्वच्छता मानक पालना गर्न, फोहर व्यवस्थापनमा डस्टबिनको प्रयोग गर्न, व्यवसाय दर्ता समयमा नवीकरण गर्न र मापदण्डअनुसार व्यवसाय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। साथै यथाशीघ्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ।
महानगरका अनुसार अनुगमनको उद्देश्य व्यवसायीलाई डर देखाउने नभइ व्यवसायीलाई स्वच्छ, जिम्मेवार र कानूनअनुसार व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने हो। यति गर्दा पनि लापरबाही गरेमा कानूनअनुसार कारबाही हुने महानगरले जनाएको छ।
व्यसायीको सानो गल्तीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने भएकाले व्यवसायीले थप जिम्मेवार भएर कानूनअनुसार सेवालाई प्रभावकारी रूपमा प्रदान गर्नुपर्नेमा कामपाले जोड दिएको छ। रासस