शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

छठका लागि बाँसका भाँडाकुँडा बनाउन व्यस्त छ डोम समुदाय, राम्रो लिन्छन् आम्दानी

बिहीबार , असोज ३० २०८२
छठका लागि बाँसका भाँडाकुँडा बनाउन व्यस्त छ डोम समुदाय, राम्रो लिन्छन् आम्दानी

छठपर्वका लागि बाँस र बेतबाट छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउन डोम समुदाय जुटेका छन्।

महोत्तरी- तराई-मधेसका मिथिलाञ्चल क्षेत्रसहित महोत्तरीमा छठपर्वका लागि बाँसका भाँडा बनाउने डोम समुदायको अहिले व्यस्तता बढेको छ।

वर्षैभरि सुँगुर पालन गरी जीविकोपार्जन गर्ने डोम जातिलाई अहिले तराईवासीको महान् पर्व छठ नजिकिँदै जाँदा बाँसका भाँडाकुँडा बनाउ नभ्याइनभ्याइ भएको जलेश्वर नगरपालिका-२ का रामजी डोमले बताए।

गाँस, बास र कपासको जोहो गर्न समस्या पर्ने यो समुदायलाई छठपर्वको तयारी सुरु हुनासाथ असोज र कात्तिकभरि बाँसका भाँडा बनाएर बिक्री गर्न भ्याइनभ्याइ हुने एकडारा गाउँपालिका-२ का तेतर डोमले बताए। छठपर्वका लागि बाँस र बेतबाट छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउन यहाँका डोम समुदाय जुटेका उनको भनाइ छ।

दैनिक हातमुख जोड्न समस्या हुने यहाँका डोम समुदायले असोज र कात्तिकमा विभिन्न परिकार पकाएर खाने गरेको मनरासिस्वा नगरपालिकाकी ६० वर्षीया दुखनी डोमिनले बताइन्।

बाँसको चोया र कप्टेरोबाट छिटी, डालो, नाङ्लो बुन्दै गरेकी पिपरा गाउँपालिका-४ की ५० वर्षीया निरसी डोमिनले भनिन्, 'छठपर्वको आगमनसँगै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउनमा व्यस्त हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले खुसी छौँ।' यही आम्दानीबाट असोज, कात्तिक र आगामी  केही दिनसम्म खुसीका साथ जीवन काट्न सकिने उनको भनाइ छ।

मिथिलामा छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरीमा अर्घ दिनुपर्ने प्रचलन भएकाले प्रत्येक परिवारमा पाँच-सातवटा बाँसका भाँडा आवश्यक पर्दछ। सोही कारणले डोमको व्यवसायले गति पाउनुका साथै आम्दानीमा बढोत्तरी हुने गरेको गौशाला नगरपालिकाकी सुनिता डोमिनले बताइन्। 

छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको जनविश्वास रहेको बताउँदै महोत्तरी गाउँपालिकाका ७० वर्षीय रामबाबु डोमले आफूहरू सोही कारण दिनरात बर्तालुहरूका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाए।

महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरका प्रदीप डोमले छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बेचेर असोज तथा कात्तिकभरिमा वर्षभरिकै सबै कर्जाहरू चुक्ता गरेर आउने ५-६ महिनाको खर्चपर्चको जोहो गर्न कमाइ हुने गरेको बताए।

औरही नगरपालिकाका बेचन डोमले घरका बालकदेखि वृद्धासम्मले यो समयमा छिटी, डालो नाङ्लो, सुपली र बाँसका अन्य भाँडाकुँडा बेचेर प्रतिपरिवारले एक लाखदेखि एक लाख ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने जानकारी दिए।

अहिले जिल्लाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएका छन् भने मिथिलाको अन्य जिल्लाका डोम समुदाय पनि बाँस र बेतका भाँडाकुँडा बनाउन व्यस्त रहेका डोमअगुवा बिरजु डोमले बताए।

दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन सास्ती हुने गरेको भन्दै ती सामग्री बनाउन र मागअनुसार उपलब्ध गराउन भ्याइनभ्याइ भएको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend