काठमाडौं- पहिलो सगरमाथा आरोहणका अन्तिम साक्षी कान्छा शेर्पाको निधन भएको छ।
केही महिनादेखि काठमाडौंमा उपचाररत ९२ वर्षाीय शेर्पाको बुधबार राति निधन भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए। उनको आइतबार अन्त्येष्टि गरिने छ।
सन् १९५३ को मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण हुँदा सगरमाथाको शिखरसम्म पुग्ने बाटो पहिल्याउने जिम्मेवारीमा खुम्बु पासाङल्हामु गाउँपालिका-३, नाम्चेका बासिन्दा कान्छा शेर्पा पनि थिए।
सगरमाथाको पहिलो सफल आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँगै उनले २७ हजार फिटसम्म यात्रा गरेका थिए। त्यतिबेला उनी २० वर्षका मात्र थिए।
तेन्जिङको घरमा ३ महिना काम गरेका शेर्पा त्यस समय भारी बोकेर गुजारा चलाउँथे। सगरमाथा चढ्नका लागि अनुमति चाहिने हुँदा त्यतिबेला सो उचाइभन्दा माथि उनी जान पाएनन्।