बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अष्ट्रेलिया-अमेरिकासम्म पुग्छन् भक्तपुरका फूलमाला, बिचौलिया हाबी हुँदा किसान भने सधैँ मारमा

बिहीबार , असोज ३० २०८२
अष्ट्रेलिया-अमेरिकासम्म पुग्छन् भक्तपुरका फूलमाला, बिचौलिया हाबी हुँदा किसान भने सधैँ मारमा

नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा भक्तपुरका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन्।

भक्तपुर- मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याइ छ।

बिहान उठेर फूल टिपेर घरमा पुग्न नपाइ पाकेको खाना खाएर फेरि आँगन र पिँढीको डिलमा बस्दै महिलाहरू सियो धागो मिलाउँदै त्यही फूलका माला गाँस्न अभ्यस्त देखिन्छन्।

गाँसेका मालालाई लहरै झुन्ड्याएर राख्न, ढकमक्क फुलेका सयपत्रीलाई मुठा पारेर बजार पुर्‍याउने काममा परिवारका अन्य सदस्यहरू पनि उत्तिकै व्यस्त देखिन्छन्। कोही फूल र माला लिन आएका व्यापारीसँग आफ्नै आँगनमा बसेर मोलतोल गरिरहेका हुन्छन्।

तिहार नजिकिएसँगै सूर्यविनायक नगरपालिका-७ गुण्डुको प्रत्येक घरआँगनमा अचेल देखिने दृश्य हो यो। भक्तपुरकै पुरानो बस्ती चाँगुनारायण नगरपालिका-९ ताथलीका बनमाला समुदायले केही वर्षौँदेखि व्यावसायिकरुपमा मखमलीको फूलखेती गर्दै आएको छ। यहाँका बनमाला समुदायले एकसय वर्षदेखि नै मखमली फूलको खेती गर्दै तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पुर्‍याएर आर्थिक उपार्जन गर्दै आएको छ।

यस पेसा आजसम्म पनि पुस्तान्तरण हुँदै आएपछि ताथलीका बनमाला समुदायले फूलखेतीलाई निरन्तरता दिँदै आएका छन् भने राम्रो आम्दानी हुन थालेपछि यहाँका अन्य समुदाय एवं जातजातिले पनि केही वर्षदेखि व्यावसायिकरुपमा मखमलीको फूलखेती गर्दै आएका छन्।

त्यस्तै, भक्तपुरको गुण्डुमा पछिल्लो चार दशकदेखि भित्रिएको फूलखेती अहिले व्यावसायिकरुपमा परिणत हुँदै करोडौँको फूल तथा माला बिक्री हुन थालेको छ।

सूर्यविनायक नगरपालिका-७ गुण्डुका स्वर्गीय पहलमान नगरकोटीले करिब ४० वर्ष अगाडि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको बताउँछन् गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा। उनले सुरु गरेको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचान बन्दै फूलको राजधानीको रुपमा परिचित भएको उनको भनाइ छ।

स्वर्गीय नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमानले ४० वर्ष अगाडि असनका व्यवसायीका सल्लाहमा मखमलीको खेती सुरु गरेको बताउँछिन्। अहिले पुस्तान्तरण हुँदै उनको छोरी उर्मिला नगरकोटी र तीन छोरा मदनकृष्ण, कविराज पनि सयपत्री, मखमलीमात्रै नभइ विभिन्न जातका फूलखेती गर्नमा व्यस्त छन्।

गुण्डुमा फूलखेती भित्र्याउने नगरकाटीले ४० वर्षअगाडि भक्तपुरदेखि काठमाडौंका पशुपति, चाबहिल, असन, इन्द्रचोकलगायतका बजारमा फूल बिक्री गर्न लैजाँदा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तीतो अनुभव सुनाएको उनका छोरा कविराज बताउँछन्।

त्यतिबेला बजारमा अरु व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बिक्री गरेको रकमले १० जनाको परिवारको खर्च टार्नुपर्ने बाध्यता रहेको थियो। अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ भने छोराहरूले फूलसँगै असनमै अन्य व्यवसाय पनि गर्दै आएका छन्।

गाउँका अरुका माला पनि बजार पुर्‍याउने स्व.नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उनकी छोरी उर्मिला आफ्नो घरबाट सुरु भएको खेती अहिले गुण्डुमा मुख्य व्यावसायिक खेतीको रुपमा विकास भएको देख्दा खुसी लागेको बताउँछिन्। यहाँ महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गर्दा उनीहरूको राम्रो आम्दानीको स्रोत समेत बनेको छ।

वडास्तरीय अपांग समन्वय समितिकी अध्यक्षसमेत रहेकी उर्मिला यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमानको आशामा गर्नुपर्ने अवस्था नरहेको, चाँडबाडलगायत घरखर्चमा पनि टेवा पुगेको बताउँछिन्।

घरखर्चका लागि ऋण समेत नपत्याउनेहरू फूलखेतीबाटै बुबाले तीन-चार लाख रूपैयाँसम्म कमाउन थालेपछि जीवनस्तरमा उल्लेख्य सुधार आएको उनी बताउँछिन्। फागुनमा बेर्ना राखी चैत्रमा रोपेको मखमली असारदेखि निरन्तर चार महिनासम्म टिपेर मखमलीको माला गाँसी वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्।

पुष्प व्यवसायी भन्छन्- मूल्यमा एकरुपता आवश्यक

स्थानीय पुष्प व्यवसायी एवं राष्ट्रिय कृषक समूह महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेतले यसवर्ष आफूले लगाएको फूलखेतीबाट तीन लाखको फूल बिक्री गरेको बताउँछिन्।

आधा रोपनी जग्गामा मखमली र अढाइ रोपनी जग्गामा सयपत्री फूलको खेती गरेको बताउँदै उनी भन्छिन्, 'स्थानीय महिलाहरूले उत्पादन गरेका फूललाई बजारीकरणको प्रबन्ध मिलाइएको छ। एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ।' असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको उनको भनाइ छ।

असारदेखि मङ्सिरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशमा बिक्री गर्ने गरेको बताउँछिन्।

सयपत्री फूल पनि असार-साउनदेखि फुल्ने गर्छ। सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन्। चार-पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको १५ देखि २० रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिइन्।

सयपत्री फूललाई अचेल किलो, पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ। किसानले ढ्वाङ्को करिब ७ सय रूपैयाँसम्म र किलोको २५० रूपैयाँसम्म लिने गरेका छन्। स्थानीयभन्दा उन्नत जातका सयपत्री फूलको बढी समय टिक्ने भएकाले व्यापारीले बढी मूल्य तिर्ने गर्छन्। गतवर्ष घरबाटै २० देखि २५ रूपैयाँमा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ।

स्थानीय पुष्प व्यवसायी बस्नेतका अनुसार गुण्डुका झन्डै ७५ प्रतिशत स्थानीयवासीले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्। उनी पछिल्लो समय मखमली फूलको मालाले उचित मूल्य नपाउँदा किसान मारमा परेको बताउँछन्।

किसानले भन्दा बिचौलियाले बढी मूल्य लिने गरेको बताउँदै उनले भने, 'मखमली फूलको माला किन्न व्यापारी घरघर आउँछन्। किसानसँग एउटा मालाको मुस्किलले २१ देखि २५ रूपैयाँसम्ममा लैजान्छन् तर बजारमा ७० रूपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्छन्।

मालाको मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन्।' राज्यले मखमली फूलको मालामा एकरुपता ल्याउन लम्बाइ र गुणस्तर हेरेर मूल्य निर्धारण गर्नुपर्ने बताउँदै उनी व्यवसाय गर्ने महिलाहरूका लागि सरकारले गुण्डुलाई फूलखेतीको पकेट क्षेत्र घोषणा गर्दै आर्थिक अनुदान र तालिम एवं प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिन्छन्।

किसानलाई नगरपालिकाको अनुदान 

सूर्यविनायक नगरपालिकाले पुष्पखेतीको पकेट क्षेत्रको रुपमा यस क्षेत्रलाई विकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदान वितरण गर्दै आएको वडाध्यक्ष रवीन्द्र सापकोटा बताउँछन्।

नगरपालिकाले साना किसान कृषि सहकारी संस्थामार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरी १२ रूपैयाँ पर्ने बिरुवालाई आठ रूपैयाँ अनदान दिइ वितरण गर्दै आएको उनको भनाइ छ। सापकोटाका अनुसार यस वर्ष स्थानीय ५५० किसान परिवारलाई १२ लाख रूपैयाँबराबरको ७५ हजार सयपत्री बेर्ना वितरण, तालिम तथा प्राविधिक सहयोग गरिएको छ।

उनले भने, 'यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो स्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि नै मखमली फूलको माला झुत्तो बनाएर राखी तिहारमा बिक्री गरेका छन्।'

गुण्डुबाट प्रत्येक वर्ष करिब दुई करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउँदै उनी भन्छन्, 'फूलको व्यापारमा बिचौलिया हाबी भएकाले पुष्प किसान एवं व्यवसायीलाई सिधै बजार पुर्‍याउन सके अझै आम्दानी बढ्ने छ।'

फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिन्छ। फूल खेतीबाट धान तथा मकैभन्दा चौबर बढी आम्दानी हुने भएकाले कतिपय किसानहरूले फूलको टनेल खेती समेत गरेर १२ महिना नै सयपत्री फूल उत्पादन गर्न थालेका छन्।

अन्तर्राष्ट्रिय बजारमा भक्तपुरका फूलमाला 

अन्तर्राष्ट्रिय बजारमा गुण्डुका फूलमाला पुग्ने गरेका छन्। सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी अनिता बस्नेत बताउँछिन्।

नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन्। राष्ट्रिय कृषक समूह महासंघ नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी बस्नेतले आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउन पाउँदा खुसी लागेको बताइन्।

उनले भनिन्, 'विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय बजारका व्यापारीमार्फत यहाँका फूल तथा माला पुर्‍याउने गरेको छु। मेरो उत्पादनले मात्रै नपुग्दा अरु किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु।'

यस वर्ष पनि अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, दुबईलगायतका देशमा मखमली फूलका माला पठाइएको छ। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend