काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्।
आयोगको गत आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नु पर्ने आवश्यकता औँल्याए।
आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङसमक्ष पेस गरेका थिए। आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ, जसले पीपीएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाको पीपीएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पीपीए प्रतिस्पर्धाबाट गर्न आधारदर तय गर्ने र बोलपत्रसम्बन्धी कागजात तयार गर्नुहोस्।’
नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ। त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधारदर प्रतियुनिट ५.९४ रूपैयाँ रहेको छ।
जलविद्युत आयोजनाको पीपीए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमश: ४.८० र ८.४० रूपैयाँ रहेको छ।
नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्द्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दिगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुन आग्रह गरे। रासस