शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

मन्त्री घिसिङसँग जर्मनीका राजदूतको भेट, नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह

बुधबार, असोज २९ २०८२
मन्त्री घिसिङसँग जर्मनीका राजदूतको भेट, नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सो अवसरमा जर्मनी-नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रूपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो। मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह गरे।

नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफलाइन रहेको बताए।

जर्मनी र युरोपेली संघको संयुक्त सहायतामा अगाडि बढाइएको सन् २०२९ सम्ममा विकास हुने पोखरा-बुटवल-भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्त्वपूर्ण भएको बताउँदै मन्त्री घिसिङले त्यस क्षेत्रमा विद्युतीय सवारीसाधन र घरायसी प्रयोजनका लागि विद्युतको प्रयोगलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न प्रसारण र वितरण सञ्जाल विस्तार तथा सुधारको काम तत्काल सुरु हुने उल्लेख गरे।

पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेकाले तीन सहर जोड्ने गरी ट्रली बस चलाउन, चार्जिङ स्टेसन सञ्चालन गर्न, त्यस क्षेत्रमा बढ्ने विद्युतको भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नुपर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न उनले आग्रह गे।

उहाँले जेनजी आन्दोलनका क्रममा आगलागी गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुनर्निर्माण यकिन गर्न स्वदेशीविज्ञ नरहेकाले अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन आग्रह गरेका थिए।

भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराएका थिए। रासस


प्रकाशित : बुधबार, असोज २९ २०८२१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend