तम्घास- सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो।
जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बीमा पहुँचमा पुगेको छ। २०७८ सालको जनगणनाअनुसार जिल्लामा कुल दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार ३५५ जनाले स्वास्थ्य बीमा गराएका छन्। जसमा महिला ६५ हजार ६६६ र पुरुष ६१ हजार ६८९ जना रहेका छन्।
सबैभन्दा बढी रेसुंगा नगरपालिकाका २४ हजार ५४१ जनाले स्वास्थ्य बीमा गराएका छन्। त्यसैगरी चन्द्रकोटका ६ हजार ४ सय, छत्रकोटका १२ हजार २६३, धुर्कोटका १० हजार ३०५, गुल्मी दरबारका १० हजार २१०, इस्माका सात हजार ३५० नागरिकले स्वास्थ्य बीमा गराएका छन्।
त्यसैगरी, कालीगण्डकीका ६ हजार ७०३, मदानेका तीन हजार ६७६, मालिकाका आठ हजार १९९, मुसीकोटका सात हजार ८४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार ७८२ नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए।
जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार ५२४ परिवार र ५० प्रतिशत छुटमा ८८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार ६०२ जनाले स्वास्थ्य बीमा गराएका छन्। सरकारले ज्येष्ठ नागरिक, अपांग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा पनि गराइदिएको छ। जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बीमाको पहुँचमा आएका छन्।
‘क’ वर्गका अपांगतर्फ ७९३ परिवारका तीन हजार ९९९ जना, एचआईभी एड्स सङ्क्रमित १६६ परिवारका ४८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका ६ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए।
गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो। सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बीमा गर्दछ। जसमा एक लाख बराबरको औषधिउपचार निःशुल्क प्राप्त गर्दछन्।
त्यसैगरी, परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सय रूपैयाँका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार रूपैयाँ उपचार खर्च प्राप्त हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। रासस