आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

संकटको बेला व्यापारिक नेतृत्वको परीक्षा

शुक्रबार, असोज ३१ २०८२
संकटको बेला व्यापारिक नेतृत्वको परीक्षा

विराटनगर- धरानमा कंचनजंगा होटेल सञ्चालन गर्दै आएका मनोज कुमार मेन्याङ्बोको जेनजी आन्दोलनको क्रममा नगद पाँच लाख लुटियो। केही रकम फिर्ता भएपनि उनको आत्मबल भने फिर्ता भएको छैन। स्थानीय व्यावसायिक संस्थामात्र नभएर जनप्रतिनिधिदेखि प्रशासनले समेत साथ नदिएको बताउँछन् मेन्याङ्बो। 

‘मुलुकमा बस्ने अवस्था नै नभएको हो कि जस्तो पो लाग्न थाल्यो। व्यावसायीक वातावरण डामाडोल भएको छ। उद्योगी व्यवसायीको मनोबल बढाउन कसैले पनि केही प्रयास गरेका छैनन्। व्यापारिक संस्थाका नेताहरू नै आत्मविश्वास गुमाएको अवस्थामा पुगेका छन्। एकदमै एक्लो महसुस भएको छ,’  बिजनेस न्युजसँग कुरागर्दै उनले अनुभव सुनाए।

१५ वर्षदेखि विराटनगरमा हार्डवेयर व्यवसाय गर्दै आएका व्यापारी देवी पोखरेल कोरोना महामारीपछि नै माहौल बिग्रिएको बताउँछन्। ‘विगतमा केही समय व्यापार खच्किए पनि पछि सुध्रिएर जान्थ्यो तर अहिले त त्रासमा बस्नुपर्ने अवस्था आयो। व्यवसाय गर्ने र आफ्नो मेहनतले कमाउने व्यापारीलाई पैसा कमायो भने बस्नै नदिने दिन आएछ। हामी एकदमै त्रसित छौँ। कसलाई भन्ने? कहाँ जाने? एकदमै डरमर्दो अवस्थामा छ,’ उनले भने। 

आगजनी गर्ने र समाज भड्काउने काम गर्नेहरुमात्र समाजमा स्थापित भएको उनको भनाइ छ। पालिकाहरू जलेर क्षतविक्षत अवस्थामा रहेको र निर्माण व्यवसायीले भुक्तानी नपाएको कारण आफूहरूसमेत मारमा परेको पोखरेलले बताए। यो समयमा व्यावसायिक संघ संगठनहरू आफै अन्यौलमा रहेकाले थप अपेक्षा नरहेको उनले सुनाए। ‘संस्थाको नेतृत्व नै निरीह भएपनि कसलाई अपेक्षा गर्नु?’ उनले प्रश्न गरे।

दमकका व्यवसायी डाक्टर सुमन आचार्यले जेनजी आन्दोलन परिवर्तनको लागि भएको मानेका थिए। आन्दोलनले केही सकारात्मक सन्देश प्रवाह गर्ने सोचेका उनलाई आन्दोलनको पछिको अवस्थाले त्रसित बनाएको छ। व्यवसायसँगै स्थानीय सामाजिक संस्थामा समेत सक्रिय आचार्यले यो विषम परिस्थितमा सबै थकित भएको सुनाए। 

biratnagar byapar (2).jpg

व्यवसायको भौतिक क्षतिभन्दा मनोबल कमजोर बन्दै गएकोमा उनी गम्भीर भएका छन्। व्यावसायिक वातावरण नै बिग्रिएको हो कि भन्ने बुझाइ उनमा परेको छ। यो विपत्तिमा व्यापारिक संघ संगठनहरूले मलम लगाउन सकेका छैनन्। दमक उद्योग वाणिज्य संघले केही प्रयास गरिरहे पनि त्यसले व्यावसायिक माहौल फिर्ता ल्याउन नसक्ने उनलाई लाग्छ। 

विराटनगरमा मात्र आधा दर्जन व्यावसायिक संस्था छन्। त्यसबाहेक वस्तुगत संस्थाको सूची झनै लामो छ। संस्थाको नेतृत्वकर्ता नै विपत्तिको समय आएकाले संयमित बन्नुपर्ने बताउँछन्।

विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा व्यापारी र उद्योगीलाई व्यक्तिगत रूपमा आक्रमण गर्ने काम खेदजनक रहेको बताउँछन्। प्रहरी प्रशासनदेखि व्यापारीको समेत मनोबल गिरेको कारण अवस्था भयावह रहेको उनले बताए। 

शान्ति सुरक्षाको महसुस गराउन सक्ने अवस्था नभएको र त्यसको लागि संघको तर्फबाट मेहनत गरिरहेको बंजराले बताए। ‘सुरक्षा भनेको महसुस हुने कुरा हो। हामीले सुरक्षित वातावरण छ भनेरमात्र हुँदैन व्यापारीले महसुस गर्न सक्नुपर्‍यो। अहिले त्यो अवस्था छैन। खुलेर व्यापार गर्ने र लगानीगर्ने अवस्था छैन। यो समय कसरी मनोबल बढाउन सकिन्छ भनेर मेहनत गर्ने समय हो भन्ने मलाई लाग्छ,’ बिजनेस न्युजसँग कुरा गर्दै उनले भने।  

biratnagar byapar (3).jpg

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ आन्दोलनको नाममा नियोजित रूपमा व्यवसायीलाई हतोत्साहित गर्ने काम भएको बताउँछन्। सरकारले पनि ढाडस दिन नसक्ने र व्यवसायमा तोडफोड हुने अवस्था भएकाले नेपाली लगानीकर्ता असुरक्षित रहेको उनले बताए।

सुनसरी उद्योग वाणिज्य संघको तर्फबाट वस्तुगत संघ संगठनसँग छलफल गर्ने योजना बनाएको श्रेष्ठले प्रस्ट पारे। व्यापारीलाई निराश नहुन आग्रह गर्दै बिस्तारै माहौल राम्रो बन्ने आश्वासन दिन घरदैलो गरिरहेको उनको भनाइ छ।

(बिजनेस न्युज डटकमको यूट्युब च्यानलमा प्रकाशित भिडियोहरू हेर्न तथा सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। टिकटकफेसबुक र एक्समा पनि हाम्रा सामग्री हेर्न सकिन्छ।)


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend