शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

अमेरिकी उच्चपदस्थ अधिकारीहरु र विभिन्न दातृ निकायसँग अर्थमन्त्रीको छलफल

बुधबार, असोज २९ २०८२
अमेरिकी उच्चपदस्थ अधिकारीहरु र विभिन्न दातृ निकायसँग अर्थमन्त्रीको छलफल

अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुइ देशका सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवाद भएको थियो।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले अमेरिकी उच्चपदस्थ अधिकारीहरु र विभिन्न दातृ निकायसँग छलफल गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री खनालले बुधबार संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेका हुन्।

साथै नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीटीपी) को म्याद थप गर्न आग्रह गरे। त्यसैगरी, अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुइ देशका सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवाद भएको थियो। 

त्यसै गरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे।

साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए। जापान सहयोग नियोगका प्रतिनिधिसँग बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउनेलगायतका विषयमा छलफल भएको छ।

त्यसैगरी, अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे।

सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदानप्रदान भएको थियो। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।


प्रकाशित : बुधबार, असोज २९ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend