शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

मंगलबार, असोज २८ २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रूपैयाँ विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब खर्च भएको प्रतिवेदनमा जनाइएको छ।

काठमाडौं- गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रूपैयाँबराबर देखिएको छ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रूपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ।

चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रूपैयाँ विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड रूपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रूपैयाँ विनियोजन भएकामा २ खर्ब २३ अर्ब ९४ करोड रूपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ।

वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रूपैयाँ विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड रूपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ।

गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन भएको छ। जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रूपैयाँ, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रूपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रूपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। बजेटमा लक्ष्य गरिएको राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रूपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व संकलन भएको हो।

गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड र ऋण एक खर्ब २५ अर्ब ४० करोड गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ। गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो।

घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड रूपैयाँ आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड रूपैयाँ बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड रूपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend